कास्की । लगातारको वर्षाका कारण पटकपटक पहिरो खसेर अवरुद्ध हुँदै आएको पोखराको काहुँखोला–सिक्लेस सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ ।
सो सडकखण्डको मादी गाउँपालिका–१ मा पर्ने चिप्ली र खिलाङबीचमा दुई दिनअघि गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा कास्कीको ग्रामीण पर्यटनको केन्द्र सिक्लेसको पोखरासँगको सिधा यातायात सम्पर्क विच्छेद भएको थियो ।
मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले पहिराले पटकपटक स्थानीयलाई दुःख दिएकाले सो सडकखण्डमा तम्तयारी अवस्थामा ‘ब्याकलोड’ केही दिनसम्म राख्ने व्यवस्था मिलाइएको बताए ।
“यस सडकमा तीनपटक पहिरो खसेर हामीलाई दुःख दियो । पुनः पहिरोका कारण सडक अवरुद्ध भए तत्काल अपरेटर परिचालन गरी पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने व्यवस्था गरेका छौँ”, वडाध्यक्ष गुरुङले भने ।
अवरुद्ध सडक सञ्चालन तथा पहिरो व्यवस्थापनका लागि सडक डिभिजन कार्यालय पोखरा, मादी नदी सरोकार समिति, मादी गाउँपालिका तथा स्थानीयवासीले सहयोग गरेका थिए । यस क्षेत्रमा अझै वर्षा भइरहेकाले सडक खुले पनि यात्राका क्रममा उच्च सतर्कता अपनाउन तथा पहिराको जोखिम भएका स्थानमा अनावश्यक रूपमा नरोकिन र सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ ।
पहिरोले पर्यटकीय गाउँ सिक्लेससँगको सम्पर्क टुट्दा आन्तरिक पर्यटक प्रभावित बनेका थिए । विदेशी पर्यटक नभए पनि बिदाका समयमा सिक्लेसमा आन्तरिक पर्यटक भने भरिभराउ हुने गरेका छन् । रासस







