Khabar Out
देवघाटका भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

जिल्ला भूमि समस्या समाधान समिति तनहुँले उनीहरुलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ सोमबार लाभग्राहीको अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी नेतृत्वको टोलीले देवघाट गाउँपालिका–१ मा रहेका १४ जना लाभग्राहीको घरजग्गामा पुगेर उनीहरूको वास्तविक अवस्थाबारे जानकारी लिएको हो । टोलीमा समितिका पदाधिकारीका साथै देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता थियो ।

कानुनी व्यवस्था अनुसार, गाउँपालिकाबाट सिफारिस भई आएका आवेदकको दाबी, विरोध तथा संशोधनका लागि समितिले यसअघि नै सातदिने सार्वजनिक सूचना जारी गरिसकेको थियो । समितिका अध्यक्ष तिवारीले स्थलगत अध्ययन सम्पन्न भएकाले अब लाभग्राहीले चाँडै जग्गा प्राप्त गर्ने जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update