Khabar Out
सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी (बर्दघाट सुुस्ता पश्चिम) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको ठाउँको स्थलगत अवलोकन गरेका छन् । 

मुख्यमन्त्री आचार्यले आज सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने उनले बताए । उनले अस्थायी बाँध निर्माणका लागि आवश्यकपर्ने तारजाली, बोरालगायत सामग्री उपलब्ध गराइने उल्लेख गरे । 

त्यस अवसरमा मुख्यमन्त्री आचार्यले सुस्तामा तटबन्ध निर्माणको काम गरिरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका आयोजना इन्जिनियर बेलबहादुर विश्वकर्मालाई तटबन्ध निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । 

सुस्तामा नदीको कटानबाट जोगाउन स्थानीय र सुरक्षाकर्मी दिनरात खटिएका सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवलले बताए । रासस

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update