जनकपुरधाम । मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको छ ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार उक्त अवधिमा विद्यालय भवन, सडक, नाला, कल्भर्ट, सामुदायिक भवनलगायत संरचना निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।
कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर सुधिर साहका अनुसार तीन जिल्लामा १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । तीमध्ये सर्लाहीमा सात तथा धनुषा र महोत्तरीमा एक/एक वटा विद्यालय भवन निर्माण भएका हुन् । त्यसैगरी, धनुषा, महोत्तरी र सर्लाहीमा एक/एक वटा सामुदायिक भवन निर्माण भएका छन् ।
महोत्तरीमा एउटा स्वास्थ्य भवन निर्माण सम्पन्न भएको छ भने महोत्तरीमा एउटा र सर्लाहीमा दुई वटा आपतकालीन आश्रयस्थल (इमर्जेन्सी सेल्टर) निर्माण गरिएको सूचना अधिकारी साहले जानकारी दिए । सडक पूर्वाधारतर्फ सबैभन्दा बढी प्रगति महोत्तरी जिल्लामा देखिएको छ ।
सडकको आधारभूत तह निर्माणतर्फ धनुषामा २३ हजार १८६ मिटर, महोत्तरीमा आठ हजार ७४७ मिटर र सर्लाहीमा ७०० मिटर काम भएको छ । त्यस्तै, धनुषामा तीन हजार ५९० मिटर, महोत्तरीमा आठ हजार ५८३ मिटर र सर्लाहीमा चार हजार २८ मिटर कालोपत्र सडक निर्माण भएको कार्यालयले जनाएको छ ।
सडक ढलानतर्फ धनुषामा ३३९ मिटर, महोत्तरीमा एक हजार ३४७ मिटर र सर्लाहीमा एक हजार ४११ मिटर निर्माण भएको छ । नाला निर्माणतर्फ धनुषामा पाँच हजार ३०५ मिटर, महोत्तरीमा एक हजार ५९० मिटर र सर्लाहीमा ४१० मिटर काम सम्पन्न भएको छ ।
‘कम्पाउन्ड वाल’ निर्माणतर्फ धनुषामा १३४ मिटर, महोत्तरीमा १६६ मिटर र सर्लाहीमा ७०० मिटर काम भएको छ । महोत्तरीमा १९६ मिटर इन्टरलक रोड ( ब्लक छापिएको बाटो) सम्पन्न भएको छ भने धनुषामा १५० मिटर पोखरीघाट निर्माण गरिएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।
धनुषा र सर्लाहीमा दुई/दुई वटा तथा महोत्तरीमा एउटा कल्भर्ट निर्माण भएका छन् । भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद सिंहले निरन्तर अनुगमन तथा समयमै बजेट कार्यान्वयन गरिएकाले अधिकांश कार्य निर्धारित समयमा सम्पन्न भएका बताउनुभयो । उहाँका अनुसार बाँकी काम पनि तोकिएको समयभित्र सम्पन्न गर्ने योजनाका साथ अघि बढाइएको छ ।
सडक, नाला, कल्भर्ट तथा सार्वजनिक भवन निर्माण समयमै सम्पन्न हुँदा आवागमन, शिक्षा, स्वास्थ्य तथा सामुदायिक सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको स्थानीयवासीले बताएका छन् । रासस







