सङ्खुवासभा । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा एक करोड २० लाख सात हजार बक्यौता उठाएको छ ।
शाखाले आर्थिक वर्ष २०८२/८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो ।
प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र चार लाखभन्दा बढी बक्यौता उठाएको छ । प्राधिकरणले सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो । विद्युत् बक्यौता नतिर्नेमा हाइड्रोपावर, क्रसर उद्योग र सरकारी कार्यालयले विभिन्न उद्योगसमेत छन् ।
विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले आव २०८१/८२ मा रु ६६ लाख ७४ हजार बक्यौता उठाएको थियो ।
जिल्लामा ३१ हजार ५९० ग्राहक रहेको प्रमुख चौधरीले बताए । विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम सङ्कलन भएको हो । विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित ४६ मेगावट विद्युत्मध्ये छ मेगावट मात्र खपत भएको उनले बताए ।
सङ्खुवासभामा ८० प्रतिशत भूभागमा विद्युत् विस्तार भइसकेको छ । विद्युत् सेवा भरपर्दो बनाउन तुम्लिङटार र बानेश्वरमा २२० केभीको सवस्टेसन गत वर्षदेखि नै सञ्चालन भइसकेको वितरण केन्द्रले जनाएको छ । जिल्लाको सिलिचोङ, मकालु, भोटखोला र सभापोखरी गाउँपालिकाका केही वडामा विद्युत् सेवा विस्तार हुन बाँकी छ । रासस







