झापा । शिवसताक्षी नगरपालिका–८ का बालबालिकाले आफ्नै नेतृत्व आफैँ चयन गर्दै नौ सदस्यीय वडास्तरीय बालसञ्जाल गठन गरेका छन् । बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि–२०७९ अन्तर्गत आयोजित भेलामा १२ देखि १८ वर्ष उमेर समूहका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा आज सञ्जाल गठन गरिएको हो।
भेलामा सहभागी बालप्रतिनिधिहरूले समावेशिताको आधारमा लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना पदाधिकारी चयन गरेका हुन् । नवगठित सञ्जालको अध्यक्षमा भानु माध्यमिक विद्यालयकी एन्जल बाँस्कोटा, उपाध्यक्षमा झिलझिले माध्यमिक विद्यालयकी ज्योति बस्नेत, सचिवमा पशुपति अङ्गेजी माध्यमिक विद्यालयकी तनुजा खतिवडा, सहसचिवमा भगवती आधारभूत विद्यालयकी सरला दर्नाल र कोषाध्यक्षमा निम्बस इङ्लिस बोर्डिङ स्कुलकी अरुणा भट्टराई चयन भएका छन् ।
वडाध्यक्ष सन्तकुमार फ्युँदेनका अनुसार विद्यालयस्तरका सक्रिय बाल क्लब सदस्यहरूमध्येबाट प्रतिनिधित्व सुनिश्चित गर्दै सञ्जाल गठन गरिएको हो । यसले बालबालिकाको आवाज स्थानीय सरकारसम्म पुर्याउनुका साथै नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र बाल सहभागिता अभिवृद्धिमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे।
नवनिर्वाचित सञ्जालले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण र सकारात्मक सामाजिक परिवर्तनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस







