काठमाडौं । सर्वसाधारणको आर्थिक अवस्था उकास्ने, सानो पुँजीलाई एकीकृत गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र वित्तीय पहुँचबाट वञ्चित नागरिकलाई आर्थिक गतिविधिमा जोड्ने उद्देश्यले स्थापना भएका सहकारी संस्था पछिल्लो समय सर्वसाधारणको सम्पत्ति लुट्ने माध्यम बन्दै गएको आरोप चुलिएको छ । सहकारीमा जीवनभरको कमाइ जम्मा गर्ने बचतकर्ता मात्रै होइन, आर्थिक आवश्यकता पूरा गर्न ऋण लिने ऋणीसमेत सहकारी सञ्चालकको कथित मनपरी र शोषणको सिकार बन्न थालेका छन् । कतै बचतकर्ताको अर्बौँ रुपैयाँ अपचलन भएको छ भने कतै ऋणको नाममा करोडौँ मूल्यका घरजग्गा कब्जा गरिएको पीडितहरूको गुनासो छ ।
बैंकिङ प्रणालीमा बचत तथा कर्जा कारोबार गर्दा स्रोत, आम्दानी र वित्तीय विवरणसम्बन्धी विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । तर सहकारी क्षेत्रमा प्रभावकारी नियमन र अनुगमनको अभावले सर्वसाधारणको ठूलो रकम जोखिममा परेको छ । विशेषगरी साना बचतकर्ताले दुःख गरेर जम्मा गरेको रकम फिर्ता पाउन नसक्दा उनीहरूको आर्थिक जीवन नै अस्तव्यस्त बनेको छ । अर्कोतर्फ, ऋण लिएका व्यक्तिलाई अस्वाभाविक ब्याज, पटकपटक बनाइने तमसुक, ब्ल्याङ्क चेक र जग्गा राजीनामामार्फत थप आर्थिक भारमा पारिएको आरोप सार्वजनिक भइरहेका छन् ।
सहकारीको नाममा सर्वसाधारणको रकम संकलन गर्ने, उक्त रकम सदस्यको हितमा परिचालन नगरी सञ्चालक तथा उनीहरूका आफन्तको नाममा घरजग्गा जोड्ने, सेयर खरिद गर्ने, हाइड्रोपावरलगायतका क्षेत्रमा लगानी गर्ने र संस्थाको सम्पत्तिलाई निजी सम्पत्तिसरह प्रयोग गर्ने प्रवृत्तिले सहकारी क्षेत्रप्रतिको विश्वास नै समाप्त हुने अवस्थामा पुगेको छ । राज्यको कमजोर नियमन, राजनीतिक संरक्षण र प्रभावकारी कारबाहीको अभावले यस्ता गतिविधि मौलाउदै आएको छ ।
एउटै व्यक्ति तथा समूहले विभिन्न स्थानमा सहकारीको सञ्जाल विस्तार गरेर बचत संकलन गर्ने र पछि ठूलो रकम अपचलन गरेर फरार हुने घटनासमेत दोहोरिएका छन् । चर्चित सहकारी ठगी प्रकरणका मुख्य आरोपितमध्येका जीबी राईसमेत पक्राउ पर्न नसक्नुले राज्यको अनुसन्धान क्षमता र कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ । हजारौँ बचतकर्ताको अर्बौँ रकम जोखिममा पर्दासमेत पीडितले न्याय र बचत फिर्ताका लागि वर्षौँ कुर्नुपर्ने अवस्था कायम छ ।
बचतकर्ता मात्र होइन, ऋणी पनि सहकारीको शोषणमा
सहकारी क्षेत्रको विकृति बचतकर्ताको रकम अपचलनमा मात्रै सीमित छैन । ऋण आवश्यक परेका सर्वसाधारणलाई कर्जा उपलब्ध गराउने नाममा जग्गा नै आफ्नो नाममा राजीनामा पास गराउने, अस्वाभाविक ब्याज जोडेर तमसुक बनाउने, खाली चेक लिने र ऋणको वास्तविक विवरणभन्दा कैयौँ गुणा बढी दायित्व सिर्जना गर्ने गरेको पीडितहरुले बताउदै आएका छन ।
बैंक तथा वित्तीय संस्थाबाट सहजै ऋण प्राप्त गर्न नसक्ने सर्वसाधारण सहकारीको ढोका पुग्छन् । तर त्यही आर्थिक बाध्यतालाई अवसर बनाएर केही सञ्चालकले ऋणीलाई ऋणको जालोमा फसाउने गरेको गुनासो छ । ऋण चुक्ता गर्न खोज्दा पनि ब्याज र हर्जाना थप्दै जाने, पुरानो ऋणको नाममा नयाँ तमसुक बनाउने र अन्ततः धितोभन्दा धेरै मूल्यको सम्पत्ति आफ्नो नाममा पार्ने प्रवृत्तिले सहकारी क्षेत्रभित्र अर्को भयावह विकृति देखाएको छ ।
यसको एउटा उदाहरण न्युरोडस्थित पूँजी विकास सहकारी संस्थासँग जोडिएको छ । पीडित गुणराम प्रजापतिका अनुसार उक्त संस्थाले तमसुकमाथि तमसुक बनाउँदै चक्रवृद्धि मिटरब्याजको शैलीमा ऋणको दायित्व बढाएर कीर्तिपुरको भुतखेलस्थित करोडौँ मूल्य पर्ने जग्गा हडपेको आरोप छ ।
प्रजापतिका अनुसार धेवा सहकारीका पूर्वसञ्चालक विनय श्रेष्ठले सहकारीबाट ऋण दिलाइदिने भन्दै जग्गा फिर्ता गर्ने कागजात गराएर एक रोपनी १४ आना जग्गा राजीनामा पास गरी लिएका थिए । तर पछि जग्गा फिर्ता नगरी सहकारीको ऋणसमेत आफूलाई नै बोकाइएको उनको गुनासो छ । ऋण उपलब्ध गराउने बहानामा जग्गा नै आफ्नो नाममा पार्ने र त्यसपछि ऋणीलाई थप दायित्वमा पार्ने यस्तो कार्यले सहकारी कारोबारको पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
सात लाख २५ हजार ऋण, करोडौँको सम्पत्ति गायब
कीर्तिपुर नयाँबजारस्थित देय् धुकू बहुउद्देश्यीय सहकारी संस्थामाथि पनि ऋणीको सम्पत्ति हडपेको गम्भीर आरोप छ । पीडित धनबहादुर महर्जनका अनुसार उक्त सहकारीमार्फत सात लाख २५ हजार रुपैयाँ कर्जा उपलब्ध गराइएको थियो । तर संस्थाका तत्कालीन उपाध्यक्ष तथा हालका अध्यक्ष राजेन्द्र तण्डुकार र सचिव सुन्दर केसीले अस्वाभाविक रूपमा ऋणको दायित्व बढाउँदै आफ्नो करोडौँ मूल्यको सम्पत्ति कब्जा गरेको उनको आरोप छ ।
महर्जनका अनुसार संस्थाले वास्तविक कर्जाको विवरण स्पष्ट नगरी पुरानो तमसुकका आधारमा थप दायित्व सिर्जना गर्दै गएको थियो । २०६६ साल चैत १२ गतेको मिति राखिएको तमसुकमा कर्जाको वास्तविक साँवा रकमसमेत स्पष्ट उल्लेख नभएको प्राप्त कागजातबाट खुल्न आउँछ ।
त्यसपछि २०७२ असार १ गते तयार गरिएको अर्को कपाली तमसुकमा साँवा, ब्याज र हर्जानासमेत हिसाब गर्दा एक करोड ६८ लाख रुपैयाँ पुगेको उल्लेख गरिएको छ । सोही तमसुकमा ३८ लाख रुपैयाँ मिनाहा गरी एक करोड ३० लाख रुपैयाँ तिर्नुपर्ने उल्लेख गरिएको पीडितको भनाइ छ ।
सात लाख २५ हजार रुपैयाँको कर्जाबाट सुरु भएको कारोबार कसरी करोडौँको दायित्वमा पुग्यो भन्ने प्रश्नले उक्त सहकारीको ऋण प्रवाह, ब्याज गणना र तमसुक निर्माण प्रक्रियामाथि गम्भीर छानबिन आवश्यक देखाएको छ ।
धितो फुकुवा गरेर सञ्चालककै नाममा जग्गा राजीनामा
महर्जनका अनुसार सहकारीले दृष्टिबन्धक राखेको कीर्तिपुर नगरपालिका–८, बाहिरी गाउँस्थित कित्ता नम्बर १५२ को ०–१४–०–० क्षेत्रफलको जग्गा फुकुवा गराई त्यसको सट्टा अन्य जग्गा सञ्चालकको व्यक्तिगत नाममा राजीनामा पास गरिएको थियो ।
उनका अनुसार कीर्तिपुर नगरपालिका–८, बाहिरी गाउँस्थित कित्ता नम्बर १४९ को एक रोपनी पाँच आना, कित्ता नम्बर १२४ को आठ आना र कित्ता नम्बर १५१ को एक आना दुई पैसा जग्गा सञ्चालकहरूको व्यक्तिगत नाममा राजीनामा पास गरिएको छ ।
त्यति मात्र होइन, भावना कसजुको नाममा रहेको कीर्तिपुर नगरपालिका–४, मच्छेगाउँस्थित ६ घ कित्ता नम्बर १५१ को एक रोपनी तीन आना जग्गासमेत वर्तमान अध्यक्ष राजेन्द्र तण्डुकार र सचिव सुन्दर केसीले व्यक्तिगत नाममा राजीनामा पास गरी लिएको पीडित पक्षको आरोप छ ।
यदि पीडितले लगाएका यी आरोप र प्रस्तुत कागजातहरू सत्य प्रमाणित भएमा यो सामान्य ऋण असुलीको विषय मात्र नभई सहकारी संस्थाको पद र अधिकार प्रयोग गरी ऋणीको सम्पत्ति निजी नाममा सारिएको गम्भीर आर्थिक अनियमितताको विषय बन्न सक्छ । त्यसैले जग्गा राजीनामा, तमसुक, ऋण प्रवाह, ब्याज गणना र धितो फुकुवासम्बन्धी सम्पूर्ण कागजातको स्वतन्त्र छानबिन आवश्यक देखिन्छ ।
राज्यको नियमन कहाँ हरायो ?
गुणराम प्रजापति र धनबहादुर महर्जनका घटना प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । देशका विभिन्न स्थानमा सहकारी सञ्चालकबाट बचतकर्ताको रकम फिर्ता नगर्ने, ऋणीलाई अस्वाभाविक ऋणको भार बोकाउने तथा घरजग्गा कब्जा गर्ने आरोप सार्वजनिक भइरहेका छन् । तर यस्ता घटनामा समयमै अनुसन्धान, सम्पत्ति रोक्का, पीडितको संरक्षण र दोषीमाथि कारबाही हुन नसक्दा सर्वसाधारण झन् निराश बनेका छन् ।
सहकारीको नियमन गर्ने निकाय, स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारबीच जिम्मेवारी र समन्वय प्रभावकारी नहुँदा सहकारी क्षेत्रको विकृति नियन्त्रणबाहिर पुगेको देखिन्छ । सहकारी सञ्चालकले मनपरी गर्दा नियामक निकायले समयमै किन निगरानी गर्न सकेनन् ? सर्वसाधारणको अर्बौँ रुपैयाँ जोखिममा पर्दासमेत किन प्रभावकारी हस्तक्षेप हुन सकेन ? ऋणीको जग्गा व्यक्तिगत नाममा राजीनामा पास भएको आरोप लाग्दासमेत सम्बन्धित निकायले किन छानबिन अघि बढाउन सकेनन् ? कयौं प्रश्न छन जसको जवाफबाट राज्य पन्छिरहेको छ ।
अझ विडम्बना त के छ भने, सहकारीमा बचत गरेको रकम फिर्ता नपाएर सर्वसाधारण सडकमा पुगिरहेका छन् भने ऋण लिएका कतिपय व्यक्ति आफ्नो सम्पत्तिसमेत गुमाउनुपर्ने अवस्थामा छन् । एकातिर बचतकर्ताको रकम फिर्ता गराउने ठोस व्यवस्था छैन, अर्कोतिर ऋणीमाथि भएको सम्भावित शोषणको छानबिन र न्यायको प्रक्रिया पनि सुस्त छ ।
पीडितलाई न्याय कि सञ्चालकलाई संरक्षण ?
सहकारी संस्थामा भएको आर्थिक अपचलनको भार अन्ततः सर्वसाधारणले नै बोक्नुपर्ने अवस्था सिर्जना हुनु राज्यको नियमन प्रणालीमाथिको ठूलो असफलता हो। बचतकर्ताले आफ्नो पसिना र जीवनभरको कमाइ सहकारीलाई विश्वास गरेर बुझाएका हुन् । ऋणीले पनि आफ्नो आर्थिक आवश्यकता पूरा गर्न कानुनी प्रक्रियाबाट ऋण लिएका हुन् । दुवै पक्षको सम्पत्ति र अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो ।
त्यसैले बचतकर्ताको रकम अपचलन गर्ने सञ्चालकको सम्पत्ति खोजी गरी कानुनी प्रक्रियाबाट असुल गर्नुपर्ने, ऋणीको नाममा अस्वाभाविक रूपमा सिर्जना गरिएका ऋण र ब्याजको निष्पक्ष परीक्षण गर्नुपर्ने तथा गैरकानुनी रूपमा जग्गा राजीनामा गराइएको भए त्यसको कानुनी छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने आवश्यकता छ ।
सहकारी ठगीलाई केवल बचतकर्ताको रकम फिर्ता गर्ने समस्याका रूपमा मात्र हेरेर पुग्दैन । सहकारीको नाममा भएको लगानी, सञ्चालकको व्यक्तिगत सम्पत्ति, ऋण प्रवाहको प्रक्रिया, तमसुक र धितोसम्बन्धी कारोबारसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।
सर्वसाधारणको बचत लुट्ने र ऋणीको सम्पत्ति हडप्नेहरूलाई कानुनी कठघरामा उभ्याउन नसक्ने हो भने सहकारीप्रतिको विश्वास पूर्ण रूपमा समाप्त हुनेछ । प्रश्न अब सहकारी सञ्चालकले के गरे भन्ने मात्रै होइन, राज्यका नियामक र अनुसन्धान गर्ने निकायले आफ्नो जिम्मेवारी किन पूरा गर्न सकेनन् भन्ने पनि हो । हजारौँ नागरिकको जीवनभरको कमाइ र सम्पत्ति जोखिममा पर्दासमेत राज्य मुकदर्शक बनिरहने हो भने सहकारी ठगीको पीडा कहिलेसम्म सर्वसाधारणले भोगिरहने ?






