Khabar Out
वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने

वीरगञ्ज  ।  वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको छ।

सहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानअन्तर्गत नगरभरि अव्यवस्थित रूपमा झुन्डिएका इन्टरनेटका तार व्यवस्थापन गर्ने उद्देश्यले महानगरपालिकाले आज महानगरपालिका र सेवा प्रदायक कम्पनिहरु वल्र्ड लिङ्क, नेपाल टेलिकम, भाइनेट कम्युनिकेशन र डिशहोम फाइबर नेटलगायत कम्पनीका प्रतिनधिसँग वैठक बसेको छ ।

बैठकमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमले इन्टरनेटका अव्यवस्थित तारका कारण पनि आगलागी र दुर्घटनाको जोखिमसमेत बढेको उल्लेख गर्दै नागरिकको सुरक्षाको निम्ति जतिसक्दो चाँडो व्यवस्थापन कार्य सुरु गर्ने बताए ।

उनले भने, “शहरका पोलमा जथाभावी तार झुण्डाएको छ, अव्यवस्थित तारका कारण एकातिर सहरको सौन्दर्यमा नकारात्मक असर परेको छ भने अर्कोतर्फ आगलागी र दुर्घटनाको जोखिम पनि उत्तिकै छ, नागरिकको सुरक्षाका निम्ति जतिसक्दो चाँडो अव्यवस्थित तार हटाउनुपर्छ ।”

अव्यवस्थित तार व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाइएको र इन्टरनेट सेवा प्रदायकहरूसँग सहकार्य गरेर त्यसको दीर्घकालीन समाधान खोजिने कार्यवाहक प्रमुख आलमले बताए । बैठकले थप निष्कर्ष र कार्ययोजना तय गर्दै दीर्घकालिन समाधान गर्न आगामी सोमबार बृहत् छलफल गर्ने निर्णय गरेको छ । सो बैठकपछि सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरी प्रयोगविहीन तथा अव्यवस्थित तार हटाउने र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिइने महानगरपालिकाका प्रमुख प्रशासनिय अधिकृत बसन्तबहादुर बोहराले जानकारी दिए । महानगरले पटक पटक तार व्यवस्थापनका लागि सम्वन्धित निकायलाई अनुरोध गर्दापनि कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो पटक २०८० वैशाख १४ गतेको बैठकले वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू काटेर हटाउने निर्णय गरे पनि त्यसले पूर्णता पाउन सकेको थिएन । 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update