चितवन । बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्याङ्कअनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको हो।
भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील मानिएका छन् । प्रदेशभर रहेका ९१ वटा जोखिमयुक्त ‘ब्ल्याक स्पट’ मध्ये चितवनमा १७, धादिङमा १६, सिन्धुलीमा १४ र मकवानपुरमा १२ वटा रहेका छन्।
काभ्रेपलाञ्चोकमा ११, नुवाकोट आठ, रसुवा र रामेछापमा चार/चार, सिन्धुपाल्चोकमा तीन र दोलखामा दुई वटा स्थान जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
उहाँका अनुसार दुर्घटनामा परी पाँच जनाभन्दा बढीको मृत्यु भएको स्थानलाई जोखिमयुक्त स्थानका रूपमा लिइएको हो । विगत तीन आर्थिक वर्षमा भएका पाँच हजार ८७२ सवारी दुर्घटनामा परी ९५९ जनाले ज्यान गुमाएका छन् भने ११ हजार ६९९ जना घाइते भएका छन्।
आव २०८०/८१ मा ३१५, आव २०८१/८२ मा ३०४ र आव २०८२/८३ मा ३४० जनाको ज्यान गएको छ। गत आवमा मात्रै भएका एक हजार ९२४ दुर्घटनामध्ये एक हजार ११४ राजमार्गमा, ५३९ ग्रामीण र २७१ वटा सहरी क्षेत्रमा भएका उनको भनाइ छ । मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेको समय दुर्घटनाका दृष्टिले सबैभन्दा बढी जोखिमयुक्त देखिएको उनले जानकारी दिए।
प्रदेशका १० जिल्लाको १४ हजार ४५६ किलोमिटरभन्दा बढी सडकसञ्जाल र एक लाख ७३ हजारभन्दा बढी सवारीसाधन व्यवस्थापनका लागि ३३२ जना ट्राफिक प्रहरी कार्यरत रहेका प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए। उनका अनुसार एक जना ट्राफिक प्रहरीले औसत ४३ दशमलव ५५ किमी सडक र ५५२ वटा सवारीसाधनको निगरानी गर्नुपर्ने बाध्यता छ।
सीमित जनशक्तिका बाबजुद ट्राफिक नियम पालनामा कडाइ गर्दै गत वर्ष ९० हजार ९८३ सवारीलाई कारबाही गरी रु नौ करोड तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ। दुर्घटना न्यूनीकरणका लागि स्पीड गन, एएनपीआर क्यामेरा, डिजिटल ईचलान र ‘ट्रान्सपोर्ट कम्युनिकेसन एप’जस्ता प्रविधिको प्रयोग बढाउनुका साथै २६ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । रासस







