काठमाडौँ । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको पाइएको छ । गत जेठ र असार महिनामा सबैभन्दा यीनै दुई विषयमा सबैभन्दा उजुरी परेको जिल्ला प्रहरी रूपन्देहीले जनाएको छ।
गत जेठमा जिल्लामा ५९ वटा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो भने असारमा सोही प्रकृतिका ५८ वटा मुद्दा दर्ता भएका थिए।
गत असारमा नै रूपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो । त्यसबेला एक भारतीय नागरिक र पाँच नेपाली नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट एक हजार दरका नक्कली नेपाली नोट छाप्ने मेसिन तथा पाँच लाख ९२ हजार रूपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको थियो।
त्यसैगरी जिल्लामा महिला र जेष्ठ नागरिकतर्फका उजुरी पनि उल्लेख्य रहेको छ। जेठ महिनामा घरेलु हिंसा ९३ वाटा उजुरी परेको छ भने असारमा ९९ वटा उजुरी दर्ता भएको छ । छिमेकीसँगको झगडासम्बन्धी ठाडो उजुरी पनि उल्लेख रहेको छ । रूपन्देही प्रहरीक अनुसार जेठमा ७२ वटा त्यस्तो ठाडो उजुरी दर्ता भएकामा असारमा ६३ वटा ठाडो उजुरी दर्ता भएको थियो।
जेठमा जम्मा १८२ वटा अपराधका घटना दर्ता भएका थिए भने असारमा १७६ वटा मुद्दा दर्ता भएका थिए।
त्यसैगरी जेठमा सामाजिक अपराधका ५२ वटा दर्ता भएकामा असारमा त्यस्तो मुद्दा २१ वटा दर्ता भएको थियो । जिल्ला ज्यानसम्बन्धी उजुरी पनि अत्यधिक हुने गरेको छ। जेठमा २३ वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएकामा असारमा ३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले जेठमा २४३ जनालाई पक्राउ गरेको थियो भने असारमा १६१ जनलाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नावय उपरीक्षिक कृष्णकुमार चन्दका अनुसार आर्थिक अपराधका घटना प्रहरीका लागि चुनौतीका रूपमा खडा भएको छ। चेक बाउन्स र अनलाइन फ्रडका कारण सर्वसाधारण मर्कामा पर्ने गरेको उनको भनाइ छ । जिल्लाको ग्रामीण क्षेत्रमा अशिक्षाका कारण पनि सामाजिक एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको उनले बताए।






-1784977171.jpg)
