सुनसरी । धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न प्रकारका लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१४ हात्तीसारपथस्थित एक घरमा डेरा गरी बस्ने पाँच जनालाई आज पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईका अनुसार विशेष सूचनाका आधारमा गरिएको जाँचमा उनीहरूको कोठाबाट १२४ ग्राम ४७ मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर), नाइट्राजेपामका ४४५ ट्याब्लेट, स्पासपेनका ६५ ट्याब्लेट र ट्रामोलका १५ क्याप्सुल बरामद गरिएको छ ।
पक्राउ पर्नेमा धरान–१५ गोविन्दमार्गका २५ वर्षीय सौरभ जिमी, धरान–२० का २२ वर्षीय सुगम राई, धरान–१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई र मोरङको लेटाङ नगरपालिका–१ का २६ वर्षीय हरि लिम्बू रहेका छन् ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







