Khabar Out
हर्मुज तनावसँगै तेल बजार प्रभावित

काठमाडाैँ । पश्चिम एसियामा बढ्दो तनावका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढेपछि बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ। करिब ६ सातापछि पहिलोपटक ब्रेन्ट क्रुडको मूल्य यो स्तरमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो । अमेरिकी ‘वेस्ट टेक्सास इन्टरमिडियट’(डब्लुटीआई) क्रुडको मूल्यमा समेत वृद्धि देखिएको छ।

विश्लेषकका अनुसार अमेरिका र इरानबिच पुनः चर्किएको सैन्य तनाव तथा होर्मुज र बाब अल–मान्देब जलसन्धि हुँदै हुने तेल ढुवानीमा बढेको जोखिमले बजारमा आपूर्ति अवरोधको आशङ्का बढाएको छ।

बढ्दो भू–राजनीतिक जोखिमसँगै तत्कालीन आपूर्तिमा देखिएको कमी र कच्चा तेलको अल्पकालीन मागमा भएको वृद्धिले पनि मूल्य वृद्धिमा योगदान पुर्‍याएको बजार सहभागीहरूले बताएका छन्।

पछिल्ला सातामा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धिको क्रम बुधबार पनि जारी छ। विश्लेषकहरूले मध्यपूर्वको तनाव थप बढेमा भू–राजनीतिक जोखिमका कारण तेलको मूल्यमा थप दबाब पर्न सक्ने र विश्वव्यापी ऊर्जा बजार प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update