काठमाडौं । अतिरिक्त समयमा फरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकपको उपाधि जितेको छ।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको क्रममा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले दुई पहेँलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो, जसले स्पेनलाई थप दबाब सिर्जना गर्ने अवसर दियो ।
खेलको ११६औँ मिनेटमा निको विलियम्सको उत्कृष्ट पासलाई फरान टोरेसले गोलमा परिणत गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए । अन्तिम समयमा आएको उक्त गोल नै खेलको निर्णायक क्षण बन्यो ।
अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै स्पेनका थुप्रै प्रहार रोके पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खेलमा स्पेनले पूर्ण रूपमा दबाब कायम राख्दै २० पटक गोलको प्रयास गरेको थियो, जसमध्ये १२ प्रहार लक्ष्यतर्फ थिए । अर्कोतर्फ अर्जेन्टिनाले लक्ष्यतर्फ एक पनि प्रहार गर्न सकेन र आक्रमणमा प्रभाव जमाउन असफल रह्यो ।
यस जितसँगै स्पेनले सन् २०१० पछि पहिलोपटक विश्वकपको उपाधि जित्दै १६ वर्षपछि पुनः विश्व फुटबलको सर्वोच्च शिखरमा आफ्नो नाम लेखाएको छ ।







