Khabar Out
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास

काठमाडौँ । सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत कोदारी सडक आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने बाटो) जिरोकिलो तथा भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। मौसम अनुकूल रहे सडक आजै साँझदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको विभागको भनाइ छ।

सडक विभागका महानिर्देशक विजय जैशीले ठूलो वर्षा नभए आज साँझबाट र वर्षा निरन्तर भए भोलिदेखि सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । “वर्षा कम भए आज साँझबाटै कोदारी सडक सञ्चालनमा ल्याउने लक्ष्य छ । वर्षा निरन्तर भए भोलिसम्म सडक खुलाउने गरी काम भइरहेको छ”, उनले भने।

महानिर्देशक जैशीका अनुसार अवरुद्ध सडकखण्ड छिटो सञ्चालनमा ल्याउन सम्भावित पहिरो प्रभावित स्थानमा डोजर, एक्साभेटर, लोडर लगायतका हेभी उपकरण तयारी अवस्थामा राखिएको छ । पहिरो हटाउने कार्य तीव्र गतिमा भइरहेको उनले बताए।

देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण राजमार्गमा पहिरोको जोखिम बढिरहेकाले सडक विभागले आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update