काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न अमेरिका समक्ष आग्रह गरेकी छन्।
नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमसँग बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री यादवले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भएकाले नेपाली उत्पादनका लागि उक्त व्यापार सहुलियत पुनः उपलब्ध गराउन आग्रह गरेकी हुन्।
भेटका क्रममा मन्त्री यादवले नेपाल र अमेरिकाबीच भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ (टिफा) अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउँदै द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्।
उनले नेपालमा नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाइएको उल्लेख गर्दै थप अमेरिकी लगानी भित्र्याउन सरकार इच्छुक रहेको बताइन्।
मन्त्री यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रलगायत क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले व्यापार सहुलियतको निरन्तरता तथा नेपालमा लगानी प्रवर्द्धनका विषयमा अमेरिका सकारात्मक रहेको बताएका थिए । रासस







