म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मङ्गलबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो ।
म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका तीन हजार ९७४ जना बालबालिकाले पूर्णखोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए ।
बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेइलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनले बताए । म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, ८९ खोप केन्द्र, ४८ गाउँघर क्लिनिक रहेका छन् ।







