Khabar Out
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र

काठमाडौँ। आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुक नै रोज्ने गरेको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ।

नेपाल मेडिकल काउन्सिलले वार्षिक रूपमा झन्डै दुई हजारको सङ्ख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गरे तापनि त्यतिकै सङ्ख्यामा विदेश जानका लागि चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ।

 

काउन्सिलको तथ्याङ्क अनुसार सन् २०२५ मा २ हजार १२२ जनाले चिकित्सकको दर्ता प्रमाणपत्र लिएका थिए। अचम्मको कुरा त के छ भने, सोही वर्ष लाइसेन्स लिनेको सङ्ख्याभन्दा २६८ जना बढी अर्थात् २ हजार ३९० जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्।

काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालका अनुसार सन् २०२० यता कुल १३ हजार १४० चिकित्सकले लाइसेन्स लिएका छन् भने ११ हजार ६८ चिकित्सक बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएर बाहिरिएका छन्।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डे विगत १० वर्षदेखि चिकित्सकहरू राम्रो सेवा सुविधा र आकर्षक तलबका लागि विदेश जाने गरेको बताउँछन्। उनका अनुसार नेपालमा मेडिकल अधिकृत तहमा कमै अवसर हुने भएकाले उनीहरू स्नातकोत्तर तह पढ्न र अस्पतालमा काम गर्न विदेशिने गरेका हुन्। चिकित्सकहरू विशेष गरी २३ वटा मुलुकमा जाने गरेका छन्, जसमा सबैभन्दा धेरै अमेरिका, बेलायत, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स (यूएई), अस्ट्रेलिया, भारत, क्यानडा र जर्मनी पर्दछन्।

काउन्सिलको तथ्याङ्क अनुसार सन् २०२० यता अमेरिकामा २ हजार ९९५ जना चिकित्सक गएका छन्। अमेरिकापछि बेलायतमा २ हजार ६३७ जना, माल्दिभ्समा २ हजार २४१ जना, अस्ट्रेलियामा ८४८ जना, संयुक्त अरब इमिरेट्समा ७२० जना, छिमेकी मुलुक भारतमा ९१८ जना, क्यानडामा १४८ जना र जर्मनीमा ९२ जना चिकित्सक गएको देखिन्छ।

वर्षगत रूपमा हेर्दा सन् २०२० मा ८६९ जना चिकित्सकले मुलुक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका थिए। यो सङ्ख्या लगातार बढ्दै सन् २०२१ मा १ हजार ३२७, सन् २०२२ मा १ हजार ९५४, सन् २०२३ मा २ हजार ३१८ र सन् २०२४ मा २ हजार २१० पुगेको थियो। ‘चिकित्सकले असल चारित्रिक प्रमाणपत्र विदेशमा जागिर र पढ्नका लागि लिने गर्दछन्,’ निमित्त रजिस्ट्रार पाण्डेले भने, ‘तर नेपालबाट धेरैजसो चिकित्सक पढ्नभन्दा पनि विदेशमा गएर नोकरी गर्नका लागि असल चारित्रिक प्रमाणपत्र लिने गरेका छन्।’

Nabil bank

अर्कोतर्फ, काउन्सिलबाट लाइसेन्स लिने चिकित्सकहरूको सङ्ख्या सन् २०२० मा २ हजार १३१, सन् २०२१ मा १ हजार ७१६, सन् २०२२ मा २ हजार ८५, सन् २०२३ मा २ हजार ६९२ र सन् २०२४ मा २ हजार ३९४ रहेको थियो। नेपालमा सेवा सुविधा कम भएका कारण चिकित्सकहरू रोजगारीका लागि विदेश पलायन भइरहेका हुन्। नेपाल मेडिकल काउन्सिलमा अहिलेसम्म कुल ३९ हजार ४८६ जना चिकित्सकले लाइसेन्स लिइसकेका छन्।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update