तनहुँ। तनहुँ जिल्लामा १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना गरिएको छ। जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाभरका यी प्रतिष्ठानहरूको विवरण सङ्कलन गरी आर्थिक गणना सम्पन्न गरेको हो।
आर्थिक गणना कार्यालयका प्रमुख ऋषिराम सिग्देलका अनुसार १७ हजार आठ सय ७५ प्रतिष्ठानको कागजी प्रश्नावलीमार्फत र ७३ प्रतिष्ठानको इ–सेन्ससमार्फत गणना गरिएको छ। यसअघि विसं २०७५ सालमा गरिएको आर्थिक गणनामा तनहुँका १२ हजार चार सय ३३ प्रतिष्ठान मात्र समेटिएका थिए। हालको गणना कार्यका लागि १७ हजार तीन सय ६६ प्रतिष्ठान समेट्ने लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी प्रतिष्ठानको विवरण सङ्कलन गर्न सफल भएको सिग्देलले बताए।
सिग्देलले भने, ‘लक्ष्यभन्दा १०३ प्रतिशत बढीले गणना कार्य सम्पन्न भएको छ। गणना सङ्ख्या अझै बढ्नेछ र असार मसान्तसम्ममा प्रतिष्ठानको अन्तिम सङ्ख्या प्राप्त हुनेछ।’
यो आर्थिक गणनामा गणनाको दायराभित्र पर्ने सन्दर्भ अवधि अर्थात् आर्थिक वर्ष २०८१/८२ मा आर्थिक क्रियाकलाप सञ्चालन गरेका सबै प्रतिष्ठानहरूको तथ्याङ्क सङ्कलन गरिएको छ। यो पूर्ण गणना भएकाले कुनै पनि प्रतिष्ठान नछुटुन् भन्ने उद्देश्यले कार्यालयले जिल्लास्थित विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय तथा सहकार्य गरेको सिग्देलले जानकारी दिए।
गणना कार्यलाई थप व्यवस्थित बनाउन जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला आर्थिक गणना समन्वय समिति गठन गरिएको छ भने पालिकास्तरमा स्थानीय तह प्रमुख र वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा आर्थिक गणना वडा सहजीकरण समितिहरू क्रियाशील रहेका छन्।
यसैबीच, गणनामा कुनै पनि प्रतिष्ठान छुटे वा नछुटेको यकिन गर्न आइतबार नै तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको अनुगमन निरीक्षण गरिएको छ। सो अवसरमा होटल व्यवसायी सङ्घ तनहुँका अध्यक्ष गिरीबहादुर थापा, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, स्थानीय उद्योग व्यवसायी तथा फिल्डमा खटिएका गणक एवं सुपरिवेक्षकहरूसँग भेटघाट तथा अन्तरक्रिया गरिएको थियो।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी तिवारीले गणना कार्यको प्रगति तथा फिल्डमा देखिएका समस्याका बारेमा जानकारी लिएका थिए भने सोही अवसरमा उनले शुक्लागण्डकीस्थित कृषिउपज सङ्कलन बिक्री केन्द्रको समेत अनुगमन गरेका थिए । रासस






