Khabar Out
पञ्चकन्या मन्दिरमा गौ माता शिलामूर्ति अनावरण

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौ माताको प्रतिमा अनावरण गरिएको छ ।

धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो । एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठुलो भएको दाबी गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार करिब रु १२ लाख लागतमा उक्त प्रतिमा निर्माण गरिएको हो । पञ्चकन्या मन्दिर निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर निर्माण समितिमार्फत गौ माताको प्रतिमा स्थापना गरिएको उनले जानकारी दिए ।

मूर्ति दीर्घकालीन रूपमा सुरक्षित रहोस् भन्ने उद्देश्यले बलियो र गुणस्तरीय शिलाबाट निर्माण गरिएको भट्टराईले बताए । साथै गाउँपालिकाको करिब रु तीन लाख लागतमा शिव, गणेश, नाग र पञ्चकन्याका अन्य शिलामूर्तिहरू पनि मन्दिर परिसरमा स्थापना गरिएको छ ।

पञ्चकन्या क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण र पूर्वाधार निर्माणका काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनका अनुसार यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष राईले पञ्चकन्या मन्दिरलाई ‘पूर्वको पशुपति’का रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । किंवदन्तीअनुसार यस क्षेत्रमा गाई आएर पञ्चकन्या देवीलाई दूध चढाउने विश्वास रहेकाले सोही आधारमा गौ माताको प्रतिमा निर्माण गरिएको उनले स्पष्ट पारे ।

स्थानीयवासी निरप्रसाद फुँयालका अनुसार पञ्चकन्या देवी शक्तिशाली मानिन्छिन् र यहाँ दर्शन गरेमा मानिसका चिताएका इच्छा पूरा हुने जनविश्वास छ । मन्दिरको किंवदन्तीलाई आधार बनाएर गाउँपालिकाले थालेको संरक्षण र विकासको काम प्रशंसनीय रहेको उनले बताए । साथै मन्दिर परिसरमा रहेको च्याङ्ग्रे पोखरीको पानी कहिल्यै नसुक्ने उनको भनाइ छ ।

यहाँ गजुरसहित करिब ३१ फिट अग्लो पञ्चकन्या देवीको मन्दिर निर्माण भइरहेको छ । पुरातात्त्विक शैलीमा निर्माण गरिने मन्दिरको छाना तामाको बनाइने योजना छ । मन्दिर निर्माणको अनुमानित लागत रु एक करोड ८४ लाख रहेको छ । मन्दिर निर्माणका लागि २०८३ वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको विराट महायज्ञबाट रु एक करोड सङ्कलन गरिएको थियो । त्यसपछि पनि दाताहरूबाट थप सहयोग जुट्ने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update