काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ ।
डब्लुएचओले उत्तरपूर्वी डीआरसीलाई घेरेको बिग्रँदो अवस्थालाई नियन्त्रणमा लिन अझै संघर्ष गरिरहेको बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अफ्रिका आपतकालीन प्रमुख मेरी रोजलिन बेलिजेयरले प्रकोप अझै गम्भीर रहेको र तीव्र गतिमा फैलिरहेको बताएका छन् ।
“मैले यस्तो अवस्था देखेको छु जुन हरेक दिन विकराल बन्दै गएको छ,” उनले जेनेभामा रहेका पत्रकारहरूलाई जानकारी दिँदै डिआरसीको इतुरी प्रान्तको राजधानी बुनियाबाट भने ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण फैलिएको हल्लाका बाबजुद केही समयसम्म सङ्क्रमण पत्ता लागेको थिएन । तर मे १५ मा इबोला प्रकोपको औपचारिक घोषणा गरिएको थियो ।
यो भाइरसको सङ्क्रमण दुर्लभ ‘बुन्डिबुग्यो स्ट्रेन’का कारण हुने गर्छ, जसको उपचारका लागि हाल कुनै खोप उपलब्ध छैन ।
डब्लुएचओको पछिल्लो अद्यावधिकअनुसार कङ्गोमा अहिलेसम्म ८९६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २३२ जनाको मृत्यु भइसकेको छ । शुक्रबारसम्मको पछिल्लो २४ घण्टामा थप २१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ ।
कङ्गोमा अस्पताल पुगेका ज्ञात सङ्क्रमितमध्ये ९० प्रतिशतभन्दा बढी द्वन्द्वग्रस्त इतुरी प्रान्तका छन् ।
यो प्रकोप उत्तरी किभु र दक्षिण किभु प्रान्तमा पनि फैलिएको छ ।
बेलिजेयरले भने, “महामारी निकै छिटो फैलिइरहेको छ । डब्लुएचओले भाइरसलाई नियन्त्रणमा राख्न बेजोड प्रयास गरिरहेको छ । यो भाइरस निकट सम्पर्क तथा सङ्क्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थमार्फत सर्छ ।”
इबोलाका बिरामीका लागि उपलब्ध उपचार शैयाको सङ्ख्या शून्यबाट बढेर ५०० भन्दा बढी पुगेको उनले बताए ।
निगरानी टोलीहरूले अहिले करिब ४०० सम्भावित सङ्क्रमितको अवस्थाबारे अनुसन्धान गरिरहेका छन् । “हामी एक दिनमा दुई हजारभन्दा बढी परीक्षण गर्न सक्षम छौँ,” उनले भने ।
बेलिजेयरका अनुसार स्वास्थ्य संस्था तथा शिविरहरूमा दर्ता भएका ज्ञात इबोला सङ्क्रमितका सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने प्रयास तीव्र पारिएको छ । हालसम्म ७५ प्रतिशत सम्पर्कमा टोली पुगिसकेको छ । डब्लुएचओले सङ्क्रमण फैलिन नदिन कम्तीमा ९५ प्रतिशत सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्नुपर्ने जनाएको छ ।
छिमेकी युगान्डामा दुई जनाको मृत्यु भएको छ भने १० जना निको भएका छन् । युगान्डामा विगत १२ दिनदेखि कुनै नयाँ सङ्क्रमित फेला परेको छैन । रासस







