टाेकियाे । जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशङ्कामा प्रहरीले अमेरिकी वायुसेनाका एक क्याप्टेनलाई शनिबार पक्राउ गरेको छ । प्रहरीका अनुसार, प्रशान्त क्षेत्रका दुई सहयोगी राष्ट्रबिच तनाव बढिरहेका बेला यो घटना भएको हो ।
ओकिनावा टापुमा अमेरिकी मरिन सैनिक संलग्न रहेको आरोप लागेको हत्याको घटनापछि स्थानीय स्तरमा व्यापक आक्रोश उत्पन्न भएको थियो । उक्त घटनापछि अमेरिकी सैनिकबाट हुने अपराध नियन्त्रणका उपाय अपनाउन टोकियो र वासिङ्टन सहमत भएको एक साता नबित्दै पछिल्लो गिरफ्तारी भएको हो ।
जापानमा अमेरिकी सेनाका करिब ५४ हजार सैनिक तथा कर्मचारी तैनाथ छन् । तीमध्ये अधिकांश ओकिनावामा कार्यरत छन् । अमेरिकी सैनिकबाट हुने आपराधिक घटनाहरू लामो समयदेखि जापान र अमेरिकाबिचको सुरक्षा सम्बन्धमा चुनौतीका रूपमा रहँदै आएका छन् ।
अमेरिकी अधिकारीहरूले गत साता तल्लो तहका सैनिकका लागि लागू गरिएको रात्रिकालीन कफ्र्यू डिसेम्बर ७ सम्म लम्ब्याउने घोषणा गरेका थिए । यसका साथै, मध्यरातदेखि बिहान ५ बजेसम्म सैनिकहरूलाई घरबाहिर मदिरा सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।
ओकिनावा प्रिफेक्चरल प्रहरीका प्रवक्ताका अनुसार, शनिबार बिहान करिब ३ बजेर ९ मिनेटमा ओकिनावा सहरको सडकमा गाडी चलाइरहेका २७ वर्षीय अमेरिकी वायुसेनाका क्याप्टेनलाई पक्राउ गरिएको हो ।
ती क्याप्टेनले अमेरिकी अधिकारीहरूले लागू गरेको कफ्र्यू उल्लङ्घन गरे वा नगरेको भन्नेबारे भने अझै स्पष्ट भइसकेको छैन । क्योदो न्युजका अनुसार, पक्राउ परेका क्याप्टेन ओकिनावास्थित कादेना एयर बेसमा कार्यरत थिए । यस घटनाबारे प्रतिक्रिया लिन उक्त सैन्य आधारका अधिकारीहरूसँग तत्काल सम्पर्क हुन सकेन ।







