Khabar Out
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

काठमाडौं । कप्तान तथा स्टार स्ट्राइकर लिओनल मेस्सीको उत्कृष्ट ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुआत गरेको छ। अल्जेरियाविरुद्धको खेलमा मेस्सीले तीन गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।

खेलको १७औँ मिनेटमा मेस्सीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मैदानको मध्यभागबाट बल नियन्त्रणमा लिएका उनले पेनाल्टी क्षेत्रसम्म अघि बढ्दै अल्जेरियाका गोलकिपरलाई छक्याएर देब्रे खुट्टाबाट गरेको प्रहार गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा पनि मेस्सीको प्रदर्शन प्रभावशाली रह्यो । उनले ५८औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे । त्यसपछि ७६औँ मिनेटमा पुनः गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

सन् २००६ देखि विश्वकपमा सहभागी हुँदै आएका मेस्सीका लागि यो अर्को ऐतिहासिक उपलब्धि बनेको छ । यस ह्याट्रिकसँगै विश्वकपमा उनको कुल गोल संख्या १६ पुगेको छ ।

यो उपलब्धिसँगै मेस्सीले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् । विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी संयुक्त रूपमा दोस्रो स्थानमा पुगेका छन् ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update