रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ ।
रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुनेहुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन् । प्रस्थान गर्ने यात्रुहरूमा भारत, नेपाल, अमेरिका, रूस, अष्ट्रेलिया, भुटान, संयुक्त अधिराज्य (युके), मलेसिया तथा जर्मनीका नागरिक रहेका छन् ।
कार्यालयका अनुसार चीन प्रवेश गरेका यात्रुमध्ये अधिकांश मानसरोवर कैलास पुग्ने गरेको बताइएको छ । गत मार्च महिनासम्म ८१२ जना यात्रु रसुवागढी पुगेका थिए भने अप्रिल १४ सम्म बढेर १४ हजार २४० पुगेको र यस वर्षको जनवरीबाट हालसम्म १७ हजार २४१ यात्रु चीनतर्फ प्रस्थान गरिसकेका छन् । यो विवरण जनवरीदेखि जुन १४ सम्मको अध्यागमन कार्यालयले जनाएको छ ।
काठमाडौँ विमानस्थलदेखि टिमुरेको घट्टेखोला क्षेत्रसम्म मानसरोवर कैलासका केही यात्रुले हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङले जानकारी दिए। काठमाडौँबाट बसमार्फत करिब १० घण्टामा रसुवागढी पुग्न सकिने तथा हेलिकोप्टरमार्फत करिब आधा घण्टामै पुग्न सकिने भएकाले यात्रुहरूले यस मार्गलाई प्राथमिकता दिन थालेका छन् ।
यात्रुको चाप बढेसँगै अध्यागमन कार्यालयमा सेवा प्रवाहमा थप चुनौती समेत देखिएको छ । प्रवेश आज्ञा अनुमति अभिलेख तथा दर्ता कार्यका लागि कर्मचारी अभाव हुँदा यात्रुले लामो समय लाइनमा बस्नुपर्ने अवस्था रहेको गुनासो बढ्दै गएको छ । हाल कार्यालयमा दुईवटा डेस्कबाट मात्र सेवा प्रवाह भइरहेकाले समस्या देखिएको हो ।
कार्यालय प्रमुख भण्डारीले हालको संरचनामा सेवा विस्तार गर्न भाडाको घरका भौतिक संरचनाबाट कठिन रहेको बताउँदै रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार तथा सीमा व्यवस्थापन भवन सम्पन्न भएपछि सेवा थप व्यवस्थित र प्रभावकारी हुने जानकारी दिए । रासस







