Khabar Out
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला

ढोरपाटन (बागलुङ)। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी र पाडापाडी बोकेका गोठालाहरू अचेल मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन्।

सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिने गरी हिँडिरहेका देखिन्छन्। यसरी आफ्नै गतिमा हिँडिरहेका गोठाला र उनीहरूका वस्तुभाउ यतिबेला लेकका खर्क र बुकीपाटनतर्फ उक्लिन थालेका हुन्।

बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसानहरू हरेक वर्ष वर्षात्को समयमा खर्क र बुकीपाटन उक्लिने गर्छन्। गत असोजमा बेँसी झरेका गोठालाहरू अहिले फेरि वस्तुभाउ लिएर बुकीपाटनतर्फ लाग्न थालेका हुन्।

एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने भएकाले बेँसीमा मात्रै घाँस पुर्‍याउन सकिँदैन। त्यसैले उनीहरू हिउँद र बर्खाको समयमा लेक–बेँसी गरेर पशुपालन गर्दै आएका छन्। जिल्लाको निसीखोला, ढोरपाटन, तमानखोला र गलकोटलगायतका स्थानबाट गोठालाहरू आफ्ना वस्तुभाउ लिएर लेक उक्लिन्छन्।

पश्चिम बागलुङका अधिकांश किसानहरू पशुपालनमै आबद्ध छन्। कतिपय गोठालाहरू जेठ दोस्रो साता नै बुकीपाटन उक्लिसकेका छन् भने धेरैजसो यतिबेला खाद्यान्न र खर्च बोकेर लेक उक्लिन थालेका छन्। अहिले बुकीपाटन उक्लिने गोठालाहरू अब चार महिनापछि मात्रै गाउँ अर्थात् बेँसी झर्छन् ।

बर्खाभरि लेकमा बस्ने गोठालाहरूले असोजसम्म पुग्ने खाद्यान्न र लत्ताकपडा आफैँले बोकेर जाने गर्छन्। उनीहरू समुद्री सतहदेखि तीन हजारदेखि चार हजार ८०० मिटरको उचाइसम्मको चरन क्षेत्रमा पुग्छन्।

बुकीपाटनमा वस्तुभाउका लागि पर्याप्त घाँस पाइने हुँदा महिनौँ समय उतै बित्ने गर्छ। लेकमा टेलिफोन र विद्युत्को सुविधा नहुने भएकाले उनीहरूको लामो समयसम्म परिवारसँग फोन सम्पर्कसमेत हुँदैन। असारदेखि असोजको बीचमा कोही बिरामी परेमा, खर्च सकिएमा वा अन्य कुनै आकस्मिक घटना भएमा मात्र उनीहरू बेँसी झर्छन्।

गोठालाहरू निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला र ढोरपाटनको गर्पाछेडा, फागुने, टीकाधारा, स्यार्चुङलगायतका अग्ला पहाडी क्षेत्रमा पुग्छन्। बेँसीका बारीमा खेतीपाती गरिसकेपछि लेक उक्लिन थालेको निसीखोला गाउँपालिका–५ का किरबहादुर घर्ती मगरले बताए।

अब दसैँ मनाउनका लागि मात्रै गाउँ झर्ने उल्लेख गर्दै घर्ती मगरले भने, ‘यतिका सम्पत्ति एकै ठाउँमा राखेर पाल्न सकिँदैन, यिनीहरूलाई ठाउँठाउँमा घुमाएर चराउनु पर्छ। बेँसीमा गर्मी हुन्छ, लेकमा यतिबेला शीतल छ। घाँस पनि पलाइसकेकाले चरनका लागि सजिलो हुन्छ। एक डेढ महिना एक ठाउँ बस्छौँ, त्यसपछि फेरि अर्को ठाउँमा सर्नुपर्छ।’

लेकमा बस्दा किसानहरूले पशुपालन मात्र गर्दैनन्। उनीहरूले काठका भाँडाकुँडा र चोयाका विभिन्न सामग्रीहरूसमेत बनाउने गर्छन्। लेकमा उत्पादन भएका यस्ता वस्तुहरू बेँसी झरेपछि बजारमा बिक्री गरिन्छ। तमानखोला गाउँपालिका–५ का किसान शेरबहादुर सिर्पाली अघिल्लो वर्ष जेठको तेस्रो साता नै बुकीपाटन पुगेका थिए।

यसपालि बाली लगाउन ढिला भएकाले बल्ल बुकीपाटनको यात्रा सुरु गरेको उनले बताए। आफ्ना छिमेकीहरू भने एक साता अगाडि नै लेक उक्लिसकेको उनको भनाइ छ। सिर्पालीले भने, ‘म पनि यतिबेला लेकमा पुगिसक्थेँ, घरमा श्रीमती बिरामी छिन् र बारीमा बालीनाली लगाउनुपर्ने भएकाले एक साता ढिला भयो। एक महिनापछि फेरि बेँसी झर्ने काम छ, त्यतिबेला लेकमा रहेका साथीहरूलाई दुईचार दिन पशुको जिम्मा लगाएर झर्नु पर्ला। अबको दुई दिनमा म बुकीपाटन पुगिसक्छु।’

ढोरपाटनको बुकीपाटनमा बागलुङका मात्र नभई रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका किसानहरू भेडाबाख्रा लिएर चरनका लागि आउने गर्छन्। ढोरपाटन नगरपालिका–६ का पुनराम अदै भने बुकीपाटन पुगिसकेका छन्। अदै जेठ २३ गते नै ढोरपाटन हुँदै बुकीपाटन पुगेका हुन् ।

जेठ २० गते शुभ बार पारेर लेक उक्लिएको बताउने अदैका अनुसार लेकमा घाँस पलाइसकेकाले अबको एक सातामा बेँसीमा रहेका सबै गोठालाहरू उक्लिसक्नेछन्। अदैले भने, ‘हामी यसरी लेक बेँसी गर्न थालेको तीन-चार दशक बितिसक्यो। पढाइलेखाइ पनि भएन र देशविदेश पनि गइएन। यही वस्तुभाउ हेर्ने र ज्यान पाल्नेबाहेक अरू केही गर्न सकिएन । बर्खाभरि लेकमै बस्छौँ, अब असोज लागेपछि बल्ल बेँसी झर्ने हो। अहिले गोठालाहरूले बुकीपाटन भरिन थाल्यो, अबको केही दिनमा यो ठाउँ भरिभराउ हुन्छ।’

प्रकाशित मिति: सोमबार, असार १, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update