Khabar Out
ब्राजिलमा दुई हेलिकोप्टर एक–आपसमा ठोक्किँदा ६ जनाको मृत्यु

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा दुईवटा हेलिकोप्टर आकाशमा एक–आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । 

आइतबार बिहान दुवै हेलिकोप्टर सहरको पश्चिमी क्षेत्रमा रहेको एउटा इलेक्ट्रिक गाडी डिलरसिपको पार्किङमा खसेका थिए । यस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

दमकल विभागका अनुसार, ठक्करपछि हेलिकोप्टरहरूमा आगो लागेको थियो । हेलिकोप्टरबाट पार्किङमा राखिएका गाडीहरूमा आगो फैलिएको थियो । २० वटा गाडीहरू जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई बुझाइएको यात्रुहरूको सूचीमा अमेरिकी गायक तथा कमेडियन ओलीभर ट्रि को नाम पनि समावेश थियो । तर, दुर्घटनामा ज्यान गुमाउनेहरूको शवको पहिचान भने अहिलेसम्म हुन सकेको छैन ।

ट्रीले जुन ४ मा अर्जेन्टिनामा आफ्नो प्रस्तुति दिएका थिए । शनिबार मात्र उनले इन्सटाग्राममा एउटा भिडियो पोस्ट गरेका थिए, जसमा उनी ब्राजिलको एउटा बस्तीमा फुटबल खेलिरहेका देखिएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, एउटा हेलिकोप्टर भुइँमा खस्नेबित्तिकै विस्फोट भएको थियो, जसका कारण आसपासमा पार्क गरिएका इलेक्ट्रिक गाडीहरूमा पनि आगो सल्किएको थियो ।

दमकल र उद्धार टोलीले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए । अधिकारीहरूका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै दुवै हेलिकोप्टरका चालक दलका सदस्य थिए । 

आकाशमा दुई हेलिकोप्टर कसरी ठोक्किए भन्ने हालसम्म स्पष्ट हुन सकेको छैन । घटनाको अनुसन्धान सुरु भइसकेको छ । एपी

प्रकाशित मिति: सोमबार, असार १, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update