काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घले बिहीबार अफगानिस्तानमा भएका हवाई आक्रमणबाट कम्तीमा १० नागरिकको मृत्यु भएको बताएको छ। मृत्यु भएकामध्ये अधिकांश बच्चा थिए । पाकिस्तानले उक्त आक्रमणमा उग्रवादीहरूलाई लक्ष्य बनाएको दाबी गरेको छ।
अफगानिस्तान र पाकिस्तानबिच यस वर्षको सुरुमा युद्ध भएको थियो तर पछिल्ला केही महिनामा तनाव कम भएको देखिएको थियो। सुरक्षा मुद्दाहरूमा स्थायी समाधान नभएपछि मार्चको युद्धविरामपछि छिटपुट आक्रमणहरू भइरहेका छन्। संयुक्त राष्ट्रसङ्घको अफगानिस्तान मिशन (यूएनएएमए) का अनुसार नवीनतम आक्रमणहरू हेलमन्द प्रान्त र पाकिस्तानसँग जोडिएको कुन्नर प्रान्तमा भएका थिए।
“आक्रमणमा कम्तीमा १० नागरिकको मृत्यु भएको छ, जसमध्ये अधिकांश बच्चा हुन् र नौ जना घाइते भएका छन्,” यूएनएएमएले वक्तव्यमा भनेको छ।
इस्लामाबादले अफगानिस्तानमा ‘योजनाबद्ध र सन्तुलित’ आक्रमण गरेको पुष्टि गरेको छ तर स्थानहरूको विस्तृत विवरण दिएको छैन । उसले आक्रमण उग्रवादीहरूलाई लक्षित भएको दाबी गर्यो।
हेलमन्दका दुई बासिन्दाले एएफपीलाई तीनवटा हवाई आक्रमण आफ्नो गाउँमा परेको बताए । पाकिस्तानको सूचना मन्त्रालयले भन्यो, “अफगानिस्तानका दुई स्थानमा ‘विश्वसनीय खुफिया जानकारीका आधारमा आतङ्कवादी शिविर र लुकेका ठाउँहरूलाई चयन गरी’ आक्रमण गरिएको हो।
छिमेकी कान्दाहार प्रान्तसँगै दक्षिणी अफगानिस्तानको हेलमन्द तालिबान आन्दोलनका लागि चर्चित छ । गत हप्ता कान्दाहारमा पनि हवाई आक्रमण भएको थियो।
हेलमन्दको सफर गाउँबाट फोनमा कुरा गर्दै ५० वर्षीय बासिन्दा अब्दुल वाहिदले आक्रमणबाट चार जनाको मृत्यु र सात जना घाइते भएको बताए। अर्का गाउँले कुद्रत उल्लाहले आफू घरमा हुँदा छिमेकीको घरमा आक्रमण भएको बताए।
“पूरै क्षेत्र ध्वस्त भएको छ”, ३२ वर्षीय उनले भने, “अहिले बासिन्दाहरूलाई आक्रमण स्थलबाट टाढा राखिएको बताए ।”
उनले एएफपीलाई फोनमार्फत् भने, “त्यहाँ मारिएकामध्ये सर्वसाधारण नागरिक र त्यसमा पनि अधिकांश महिला र बच्चा थिए । सैन्य अधिकारी वा अरू कोही थिएन ।”
हेलमन्दको प्रान्तीय राजधानी लस्करगाहको इटालियाली एनजीओ इमर्जेन्सीद्वारा सञ्चालित अस्पतालमा दुई बच्चा भर्ना भएको संस्थाको एएफपीलाई बतायो ।
पाकिस्तानको सूचना मन्त्रालयले सुरुमा २२ ‘उग्रवादी’ को मृत्यु र हतियार तथा गोलाबारूद नष्ट भएको जनाएको थियो ।
इस्लामाबादले अफगानिस्तानमा उग्रवादीहरूलाई आश्रय दिएको आरोप लगाउँछ र ती उग्रवादीहरूले पाकिस्तानमा बारम्बार बम र गोली आक्रमण गर्छन् भन्ने उसको बुझाइ छ । त्यहाँ हुने द्वँद्वमा नागरिक र सुरक्षाकर्मी दुवैको मृत्यु हुने गर्छ ।
तालिबान सरकारले यसलाई अस्वीकार गर्छ र पाकिस्तानले अफगानिस्तानको सार्वभौमिकता उल्लङ्घन गरी नागरिक मार्ने गरेको आरोप लगाउने गरेको छ।
पहाडी कुन्नर प्रान्तमा एएफपीका पत्रकारले दुर्गम चुगम उपत्यकामा ढुङ्गाका घरका अवशेष देखिएको बताए। किसान मोहम्मद हाशिमले बिहानैको आक्रमणपछि आफुहरू बासिन्दाहरूलाई बचाउन दौडेको बताए ।
अक्टोबरदेखि दुई देशबिचको हिंसामा ५०० भन्दा बढी नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको अफगानिस्तान नियोगले जानकारी गराएको छ ।






