काठमाडाैँ । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसहित सुडानका आपत्कालीन राहतकर्मी र युक्रेनका बालअधिकार अभियन्ताको नाम चर्चामा आएको छ ।
यस वर्ष पुरस्कारका लागि २८७ जना उम्मेदवार मनोनयनमा परेका छन् । नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा विजेताको घोषणा गर्नेछ । शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेर्लोउले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला अन्तरिक्ष स्टेसन विभिन्न देशबिचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएका छन् ।
सम्भावित दाबेदारको सूचीमा युक्रेनी बालअधिकार अभियन्ता माइकोला कुलेबा, सेभ द चिल्ड्रेन, सुडानको आपत्कालीन प्रतिक्रिया कक्ष तथा पत्रकारहरूको सुरक्षा गर्ने कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स पनि छन् । अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ ।
यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्यपूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा घोषणा हुँदैछ । सन् १९९७ की नोबेल शान्ति पुरस्कार विजेता जोडी विलियम्सले महिलालाई पुरस्कार दिनुपर्ने अपेक्षा व्यक्त गरेका छन् । चर्चामा रहेका महिला दाबेदारमा गाजाकी शल्य चिकित्सक सारा अल–सक्का र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवा युलिया नाभाल्नायाको नाम छ ।
नोबेल पुरस्कार शृङ्खला सोमबार चिकित्साशास्त्रबाट सुरु हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ । यस वर्ष पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । रासस







