Khabar Out
पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तर पूर्वी भारतबिच ‘बीटूबी’ कार्यक्रम

पोखरा । पोखरामा उत्तर पूर्वी भारतका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबिच पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सहकार्यका लागि ‘बीटुबी’ कार्यक्रम भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा पोखरा पर्यटन परिषद्को सहकार्यमा होटल एसोसिएसन नेपाल गण्डकी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी र होटल एसोसिएसन पोखरा नेपालको आयोजनामा शुक्रबार पोखरामा ‘बीटुबी’ कार्यक्रम भएको हो । ‘पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सञ्जाल विस्तार’ को उद्देश्यसहित आयोजित कार्यक्रममा उत्तर पूर्वी भारतीय पर्यटन महासङ्घका प्रतिनिधि तथा पोखराका पर्यटन व्यवसायी सहभागी भएका थिए ।

कार्यक्रममा नेपाल र उत्तर पूर्वी भारतका पर्यटन व्यवसायीबिच पर्यटन प्रवर्द्धन, पर्यटक आदानप्रदान, व्यावसायिक सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विषयमा छलफल भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । दुवै क्षेत्रका पर्यटन व्यवसायीबिच प्रत्यक्ष भेटघाट र व्यावसायिक सम्बन्ध विस्तारले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ ।

होटल एसोसिएसन पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भारतका विभिन्न सहरमा वर्षेनी आयोजना गरिने ‘चलिए पोखरा’ अभियानलाई उत्तर पूर्वी भारतसम्म पुगेर सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

पोखरा र उत्तर पूर्वी भारतबिच पर्यटन सम्बन्ध विस्तार गर्दै भारतीय पर्यटकको आगमन बढाउने ‘बीटुबी’ कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष संगीता पौडेलले बताइन । पर्यटन व्यवसायीबिच सहकार्यका नयाँ सम्भावना पहिचान गर्न कार्यक्रमले सहयोग पुग्ने उनले सुनाइन् ।

कार्यक्रममा उत्तर पूर्वी भारतीय पर्यटन महासङ्घका अध्यक्ष छिरिङ वाङ्गेले पोखरा भ्रमणका क्रममा यहाँका व्यवसायीसँग भएको भेटघाट र छलफलले आगामी दिनमा दुवै देशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । पोखरासँग मिलेर पर्यटन सम्बन्धी धेरै कार्यक्रम गर्न सकिने उनले सुनाए ।

उत्तर पूर्वी भारत पर्यटन महासङ्घका महासचिव याङ्चेन टोङ्देन लेप्चाले उत्तर पूर्वी भारत र नेपाललाई सिमानाले मात्र छुट्याएपनि पर्यटन क्षेत्रमा एउटै उद्देश्य रहेको बताए । आगामी दिनमा पोखरा र उत्तर पूर्वी भारतका पर्यटन व्यवसायी पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । रासस

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update