Khabar Out
कांग्रेसको पाँच लाख ३८ हजार ६२२ जनाको क्रियाशील सदस्यता अद्यावधिक, विवाद कायमै

काठमाडौं नेपाली कांग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा पाँच लाखभन्दा बढी सदस्य सहभागी भएका छन् । तर सदस्यता वितरण, नवीकरण र नामावली व्यवस्थापनलाई लिएर पार्टीभित्र असन्तुष्टि र विवाद भने अझै कायम रहेको छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यहरूमध्ये पाँच लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता प्राप्त गरेका छन् । 

एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको जनाएको छ ।

यद्यपि, सदस्यता अद्यावधिक अभियानसँगै पार्टीभित्र विवाद पनि चुलिएको छ । विभिन्न जिल्ला र निर्वाचन क्षेत्रबाट सदस्यता वितरणमा पक्षपात भएको, पुराना सदस्यहरूको नाम छुटेको, नयाँ सदस्यता सिफारिसमा अनियमितता भएको तथा नेतृत्व पक्षले आफ्नो प्रभावअनुसार सदस्यता व्यवस्थापन गर्न खोजेको आरोप उठ्दै आएको छ ।

संस्थापन र इतर समूहबीच क्रियाशील सदस्यताको आधारमा आगामी महाधिवेशन प्रतिनिधि चयन तथा पार्टीको शक्ति सन्तुलन प्रभावित हुने भएकाले सदस्यता प्रक्रिया संवेदनशील बनेको नेताहरू बताउँछन् । कतिपय जिल्लामा सदस्यता विवाद समाधान नभए आगामी अधिवेशन र संगठन विस्तारका कार्यक्रम प्रभावित हुन सक्ने चिन्ता समेत व्यक्त गरिएको छ ।

कांग्रेस नेतृत्वले भने प्रविधिमैत्री र पारदर्शी प्रणालीमार्फत सदस्यता व्यवस्थापन गरिएकाले देखिएका समस्या क्रमशः समाधान गरिने जनाएको छ । पार्टीले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको र अधिकांश सदस्यको उत्साहजनक सहभागिता रहेको दाबी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update