काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवार शान्ता बास्कोटाले आफूलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसमक्ष अपिल गरेकी छन्।
काठमाडौंमा यहि असोज १८ देखि जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बास्कोटाले खस आर्य (महिला) तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी हुन् । निर्वाचनमा उनको क्रमसंख्या २२ रहेको छ।
पार्टीलाई थप सुदृढ, समावेशी र जनमुखी बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै बास्कोटाले महाधिवेशन प्रतिनिधिहरूको अमूल्य मत, साथ र सहयोगको अपेक्षा गरेकी छन् ।
उनले कांग्रेसको संगठनलाई थप मजबुत बनाउँदै महिला सहभागिता, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास तथा कार्यकर्ताको सम्मान र अधिकारका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् ।
“नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस आर्य ९महिला० तर्फ केन्द्रीय सदस्य पदका लागि आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराइदिन सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक अपिल गर्दछु,” उम्मेदवार बास्कोटाको अपिलमा उल्लेख छ।
बास्कोटाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टी संगठनलाई थप गतिशील र सुदृढ बनाउने अभियानका रूपमा लिन आग्रह गर्दै निर्वाचनमा क्रमसंख्या २२ मा मतदान गरी विजयी गराउन सम्पूर्ण प्रतिनिधिहरूसँग अनुरोध गरेकी छन् ।







