काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।
कार्यसूची अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । त्यसपछि बजेटका विभिन्न पक्षबारे सांसदहरूले धारणा राख्नेछन् । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यक्रम छ ।
बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने तथा ती विधेयकहरू संसद्मा पेश गर्ने कार्यसूची पनि रहेको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं.८१) तथा बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।







