काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका ६३० पालिकामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ६६ जिल्लाका ७५३ मध्ये ६३० पालिकामा अधिवेशन सम्पन्न भएको हो ।
अब प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनतर्फ कांग्रेस अघि बढेको छ । यसका लागि केन्द्रीय निर्वाचन समितिले असोज १० गते निर्वाचन कार्यक्रम तय गरेको थियो । यद्यपि, विभिन्न क्षेत्रमा देखिएको प्रतिकूल मौसमका कारण निर्धारित मितिमा सबै अधिवेशन सम्पन्न हुन नसक्ने अवस्था देखिएको समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले मौसम अनुकूल रहेका क्षेत्रमा असोज १० मै क्षेत्रीय अधिवेशन सम्पन्न गर्न र मौसम प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन् ।
निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा सम्बन्धित क्षेत्रको मौसमको अवस्था हेरेर निर्वाचन कार्यक्रम सञ्चालन गर्न भनिएको छ । अनुकूल मौसम भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकूल अवस्था रहेका क्षेत्रमा स्थानीय पार्टी संरचनासँग आवश्यक समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनअघि बाँकी रहेका प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनलगायतका निर्वाचन प्रक्रिया पूरा गर्नुपर्ने भएकाले निर्वाचन समितिले समयमै अधिवेशन सम्पन्न गर्न सम्बन्धित निकायलाई सक्रिय बनाएको हो ।






