काठमाडौँ । भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रंगशालामा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि २–० गोलको जीत निकाल्दै साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा समूह विजेता रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अङ्कका साथ समूह विजेत बनेको हो । नेपालले समूहचरणको आफ्नो पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
त्यसैगरी समूह ‘बी’बाट भुटान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । भुटानले तीन अङ्क बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमिफाइनमा पुगेको हो ।
आजको खेलमा नेपालका लागि रस्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले समान एक-एक गोल गरे । रस्मिले खेलको पहिलो हाफमा गोल गरिन भने रेनुकाले खेलको दोस्रो हाफमा गोल थपिन् । खेलको पहिलो हाफको अतिरिक्त समयमा रस्मिले पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै गोल गरिन् ।
त्यस्तै खेलको ६०औँ मिनेटमा रेनुकाले गोल गरिन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । आजको हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।







