काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङ जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने भएको छ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिएपछि जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन लागिएको बताए । आगामी वैशाखदेखि खोप लगाइने बताए ।
यसअघि दादुरा फैलिएपछि ढोरपाटन नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो । “दादुरा सङ्क्रमण अझ नियन्त्रणम आएको छैन,” उनले भने, “त्यही भएर जिल्लाभरिका बालबालिकालाई खोप लगाउने छौँ ।”
यस नगरपालिकामा १३ जनामा दादुरा देखिएको छ । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए । शाखा प्रमुख डा गौतमका अनुसार अहिले दादुरा सङ्क्रमितको समुदायमा सक्रिय खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको छ ।







