कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदान भत्किएको छ । गत साताको वर्षासँगै आएको पहिरोका कारण निर्माणाधीन खेलमैदान भत्किएको हो ।
कर्णाली प्रदेश सरकार र नरहरिनाथ गााउँपालिकाको संयुक्त लागतमा दुई वर्षदेखि निर्माण भइरहेको खेलमैदान पहिरोका कारण भत्किएको विद्यालयका प्रधानाध्यापक तपेन्द्र महताराले बताए । “विसं २०७७ मा गएको पहिरोले विद्यालय जोखिममा परेको थियो । खेलमैदान आवश्यक पूर्वाधार भएकाले रु ७० लाखको लागतमा खेलमैदान निर्माण भइरहेको थियो । मङ्गलबार वर्षासँगै आएको पहिरोले मैदान भत्किएको हो”, उनले भने ।
विद्यालय भवनसहित अन्य संरचना पहिरोको जोखिममा परेपछि भू तथा जलाधार संरक्षण कार्यालयको सहयोगमा दुई वर्षअघि ग्याबिन जाली हालेर पर्खाल लगाइएको प्रधानाध्यापक महताराले जानकारी दिए ।
निर्माण सम्पन्न हुने बेला वर्षाले खेलमैदान भत्किएर विद्यालय भवन पनि जोखिममा परेको प्रधानाध्यापक महताराले बताए ।रासस






