Khabar Out
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। भैरहवास्थित यो विमानस्थल नियमित र पूर्ण रूपमा सञ्चालन नहुँदा पर्यटन क्षेत्रमा गरिएको खर्बौँको लगानी जोखिममा परेको भन्दै उनीहरूले तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन्।

पर्यटन व्यवसायी अमित गुप्ताका अनुसार यस क्षेत्रको पर्यटनमा मात्रै झण्डै एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट र रोहिणी नदी जस्ता ऐतिहासिक, धार्मिक तथा बौद्ध सभ्यतासँग जोडिएका महत्त्वपूर्ण गन्तव्यहरूको प्रवद्र्धनका लागि यो विमानस्थल मुख्य आधार भए पनि अपेक्षित नतिजा नआउँदा लगानीकर्ताहरू निराश बनेका छन्। विमानस्थल सञ्चालनमा देखिएको सुस्तताले समग्र लुम्बिनी क्षेत्रको पर्यटन विकासमै बाधा पुर्‍याएको व्यवसायीहरूको ठहर छ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटन मात्र नभई यस क्षेत्रको समग्र आर्थिक गतिविधिमा ठुलो परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्। स्थिर सरकार बनेपछि लगानीमैत्री वातावरण, पूर्वाधार विकास र पर्यटन विस्तारमा ठोस कदम चालिनेमा निजी क्षेत्र आशावादी देखिएको छ।

त्यसैगरी, नेपाल भन्सार एजेन्ट संघ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्त्वपूर्ण औद्योगिक करिडोर भएकाले यहाँका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन विमानस्थलको ठुलो भूमिका रहने उल्लेख गरेका छन्। विमानस्थलको नियमित सञ्चालन र नाका व्यवस्थापन प्रभावकारी भएमा अन्तर्राष्ट्रिय व्यापार विस्तारमा सहयोग पुग्ने र औद्योगिक क्षेत्र थप सशक्त बन्ने उनको धारणा छ। व्यवसायीहरूले गौतमबुद्ध विमानस्थल नियमित भएमा लुम्बिनी क्षेत्रको पर्यटनसँगै उद्योग–व्यापारमा समेत नयाँ ऊर्जा थपिने दाबी गरेका छन् । रासस

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update