Khabar Out
नेपाल फार्मा एक्स्पो २०२६ सम्पन्न

काठमाडौँ । नेपाल औषधि उत्पादक सङ्घ (एपन)को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ समापन गरिएको छ । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ यही फागुन २८, २९ र ३० गते एक्स्पो आयोजना गरिएको थियो । सङ्घले प्रत्येक दुई वर्षमा आयोजना गर्ने यो एक्सपोको दशौँ संस्करण हो ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष विप्लब अधिकारीले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन यो एक्सपो आयोजना गरिएको बताए । उनले भने, “विश्व परिवेशमा औषधि बनाउनका लागि कस्ताखालका प्रविधि विकास भएका छन् ? नयाँ आविष्कार भएका नयाँ प्रविधिहरुलाई आत्मसात् गरेर नेपाली औषधि बनाइरहेका छौँ भन्ने जानकारी दिन एक्स्पो आयोजना गरेका हौँ ।” उनले नेपालमा उत्पादित औषधिको गुणस्तरमा कुनै शङ्का नगर्न आग्रहसमेत गरे ।

एक्स्पोका मिडिया संयोजक शैलेश वैद्यले जनताको सामू अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरको औषधि बनाइरहेको देखाउन एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार तीन दिनमा २५ हजार बढीले एक्स्पो अवलोकन गरेका छन् ।

एक्स्पोमा २०० भन्दाबढी प्रदर्शनी कक्ष थिए भने कुल प्रदर्शनी कक्षमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता थियो । साथै विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिनुका साथै स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादन पनि राखिएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update