Khabar Out
मोटरसाईकल र स्कुटर चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौंका विभिन्न स्थानबाट शुक्रबार दुईओटा सवारी साधन सहित चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको बागमती गाउँपालिका ५ ज्यामिरे घर भई काठमाडौँको टोखा बस्ने २४ बर्षीय हेमन्त परियारलाई बागमती प्रदेश ०२-०३० प ५१५९ नम्बरको मोटरसाईकल सहित काठमाडौंको टोखाबाट आज दिउँसो ट्राफिक प्रहरीले
नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर प्रदेश ३-०२-००४ प ७५१५ रहेको उक्त मोटरसाईकल ललितपुरको बागडोलबाट हराएको भनि बागलुङको गलकोट नगरपालिका ४ बस्ने डेनियल पुनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

मोटरसाईकल मकवानपुरको बकैया गाउँपालिका ५ घर भई ललितपुरको हरिसिद्धि बस्ने ३० बर्षीय सन्तलाल घिसिङबाट लिएको भनि बताएको हुँदा खोजि गर्ने क्रममा ललितपुरको पुल्चोकबाट बागमति प्रदेश ०२-०३० प १७४३ नम्बरको स्कुटर लिई हिँडिरहेको अवस्थामा घिसिङलाई समेत आज दिउँसो नियन्त्रणमा लिईएको हो । घिसिङले लिई हिँडेको स्कुटरको बारेमा समेत सोधपुछ गर्दा उक्त स्कुटर काठमाडौंको टोखा नगरपालिका ९ स्थित विनायक हस्पिटल अगाडीको पार्किङबाट हराएको भनि खोटाङका शिव कुमार बस्नेतले निवेदन दिएका थिए । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए  ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि सवारी धनी स्वयम सजग भइ सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीको अनुरोध छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपालप्रहरीको हटलाईन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update