नवलपरासी । स्थानीय समुदायलाई संरक्षणमा सहभागी बनाउने उद्देश्यले नदीमा आश्रित समुदायको हातबाट राप्ती नदीमा घडियाल गोही छोडिएको छ ।
विश्व सिमसार दिवसको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले समुदायको सहभागितामा २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छोडेको हो ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जभित्र रहेको घडियाल प्रजनन केन्द्रमा हुर्किएका २० वटा पोथी घडियाल गोहीलाई राप्ती नदीमा छोडिएको हो । नदीमा आश्रित स्थानीय बोटे समुदायका व्यक्तिहरूको प्रत्यक्ष सहभागितामा घडियाल छोडिएको थापा मगरले जानकारी दिए ।
“राप्ती नदी किनारमा बसोबास गर्ने २० जना बोटे समुदायका व्यक्तिको हातबाट राप्ती नदीमा घडियाल छोडिएको छ”, उनले भने, “निकुञ्ज कार्यालयबाट राप्ती नदीमा माछा मार्ने अनुमतिपत्र पाएका व्यक्तिहरूले घडियाललाई प्राकृतिक बासस्थानमा छोडेका हुन् ।”
माछा मार्ने अनुमति पाएका बोटे माझी मुसहर समुदायका व्यक्तिहरूको अधिकांश समय नदी छेउछाउमा बित्ने र त्यहाँ भइरहेका गतिविधिबारे उनीहरू बढी जानकार हुने भएकाले संरक्षणमा सहभागी गराउन स्थानीयको हातबाट गोही छोडिएको थापा मगरको भनाइ छ ।
सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा स्थानीयको अपनत्व महसुस गराउन यस कार्यले महत्वपूर्ण भूमिका खेल्ने थापा मगरको भनाइ छ ।
सिमसार दिवसमा छोडिएको २० गोहीसँगै प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई यस वर्ष राप्ती नदीमा छाडिएका छन् । उहाँका अनुसार केन्द्रमा हुर्काएर दुई हजार २०७ गोही हालसम्म प्राकृतिक बासस्थानमा छाडिएको छ ।
नारायणी तथा राप्ती नदी नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डा र केन्द्रमा नै रहेका गोहीबाट जन्मिएका बच्चाहरूलाई केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिएको भन्दै थापा मगरले हाल केन्द्रमा ६३० गोही रहेका जानकारी दिए।
‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने नाराका साथ यस वर्षको विश्व सिमसार दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउने क्रममा नदीमा गोही छोडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिए।
दिवसकै क्रममा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पनि विभिन्न सरोकारवाला निकायहरूसँगको साझेदारीमा विविध सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिएको पन्तको भनाइ छ ।
संरक्षणमा समुदायलाई सहभागी बनाउँदै दिगो संरक्षणमा हातेमालो गर्ने उद्देश्यले बोटे समुदायको सहभागितामा गोहीलाई प्राकृतिक बासस्थानमा छोडिएको उनको भनाइ छ ।
“प्रत्यक्ष रूपमा घडियाल संरक्षणसम्बन्धी कार्यमा सहभागी हुँदा नदीमा माछा मार्ने जाने क्रममा देखिने घडियालको संरक्षणमा स्थानीयको बढी चासो हुने हुन्छ”, उनले भने, “जसबाट आफूले छोडेको घडियालको अवस्थाको बारेमा जानकारी लिनसमेत थप उत्सुकता हुने गर्दछन् ।”
संरक्षणमा स्थानीयलाई सहभागी बनाउँदा स्थानीय आदिवासी समुदायका व्यक्तिहरू दुर्लभ तथा सङ्कटापन्न अवस्थाका घडियाललगायतका वन्यजन्तुहरूको संरक्षणमा अझै सकारात्मक हुने विश्वास लिइएको उनले बताए।
अनुमति लिएर माछा मार्न जाने स्थानीय व्यक्तिहरूले विगतमा पनि निकुञ्ज कार्यालयमा दिएको सूचना र उनीहरूसमेतको सहयोगमा तयारी जालमा अड्किएका घडियाल गोहीको उद्धार हुँदै आएको पन्तको भनाइ छ ।
आगामी दिनमा स्थानीय आदिवासी समुदायलाई प्रत्यक्ष रूपमा घडियाल संरक्षणमा जोड्न र संरक्षणबाट ती समुदायको जीविकोपार्जनमा थप सहयोग पुग्ने गरी विभिन्न कार्यक्रहरू सञ्चालन गरिने उनले बताए।
नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लाको करिब ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको थप ७२९.३५ वर्ग किलोमिटर क्षेत्रफल मध्यवर्ती क्षेत्रमा पर्दछ ।
निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेतनामूलक कार्यक्रम, सीपमूलक कार्यक्रम दिँदै आएको छ । रासस



