काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो ।
मूल्य बढेसँगै पहिलो वर्ग समूहमा पर्ने क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १३६ रुपैयाँ ५० पैसा पुगेको छ भने दोस्रो वर्ग समूहका क्षेत्रमा १३८ रुपैयाँ र तेस्रो वर्ग समूहका क्षेत्रमा १३९ रुपैयाँ ५० पैसा पुगेको छ ।
पहिलो वर्गमा विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन् भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन् ।
निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन ।
यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ ।
नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।



