काठमाडौं । स्पेनले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।
स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले मंगलबार, फेब्रुअरी ३ मा दुबईमा आयोजित ‘वल्र्ड गभर्नमेन्ट समिट’लाई सम्बोधन गर्दै यो ऐतिहासिक घोषणा गरेका हुन् ।
साञ्चेजले भने, “हाम्रा बालबालिकाहरू यस्तो क्षेत्रको सामना गरिरहेका छन्, जुन उनीहरूले एक्लै अन्वेषण गर्नका लागि बनाइएको होइन । हामी यसलाई अब थप स्वीकार गर्ने छैनौँ ।”
यो प्रतिबन्ध अन्तर्गत अब सामाजिक सञ्जाल प्लेटफर्महरूले अनिवार्य रूपमा उमेर प्रमाणीकरण प्रणाली (एज भेरिफिकेसन सिस्टम) लागु गर्नुपर्नेछ ।
स्पेनी प्रधानमन्त्रीले अर्को हप्ता सरकारले एउटा नयाँ विधेयक ल्याउने जानकारी दिँदै उक्त कानुनले गैरकानुनी र घृणा फैलाउने सामग्री (हेट स्पिच)का लागि सामाजिक सञ्जालका अधिकारीहरूलाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउने बताए ।
१६ वर्षभन्दा मुनिका बालबालिका तथा किशोरकिशोरीका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने देशहरूको संख्या विश्वभर बढ्दै गएको देखिन्छ । सन् २०२५ को डिसेम्बरमा अस्ट्रेलियाले विश्वमै पहिलोपटक यस्तो प्रतिबन्ध लगाएको थियो ।
अहिले स्पेनको यो कदमसँगै बेलायत र फ्रान्सले पनि उमेर सम्बन्धी यस्तै कडा प्रतिबन्धहरू लगाउने विषयमा छलफल गरिरहेका छन् । बीबीसी



