Khabar Out
सङ्गठनका प्राथमिकता पहिचान गरी गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता २०८२/८३ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले साङ्गठनिक हित र संस्थागत विकासका निमित्त सङ्गठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताए । वार्षिक लक्ष्य हासिल गर्न आगामी दिनमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।

प्रहरी महानिरीक्षक कार्कीले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापनलगायतका प्रहरी कार्यलाई थप चुस्त र व्यवस्थित बनाउँदै प्रभावकारी प्रहरी परिचालनमा विशेष जोड दिनुपर्ने बताए ।

ट्राफिक व्यवस्थापन एवं सवारी दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले फरार अभियुक्त पक्राउ, आर्थिक तथा वित्तीय अपराध, राजस्व चुहावट नियन्त्रण एवं आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनसमेत प्रहरी थप सक्रिय हुनुपर्ने बताए।

उक्त समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतका पाँचवटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयको समग्र कार्यसम्पादन सम्झौताको अर्धवार्षिक प्रगति समीक्षासम्बन्धी प्रस्तुतिकरण गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update