काठमाडौँ । काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौँकै तँलाछीका धालासिक्व मानन्धर सनाः गू खलका सदस्यहरूले चीर ठड्याउने चलन छ । यो वसन्त ऋतुको आगमन भएको सङ्केत पनि हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जुराएको साइतअनुसार बिहान ७ बजेर १३ बजे पूर्व फर्काएर चिरोत्थान गरिएको हो ।
यसपछि उपत्यकावासीमा रङ र खुसीको पर्व फागु (होली) सुरु पर्व भएको छ । यस वर्ष फागुको उल्लास आगामी आठ दिनसम्म रहनेछ । अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्वले मानिसहरूलाई जातीय र सामाजिक विभेद बिर्सेर एउटै रङमा समाहित गराउने विश्वास गरिन्छ ।
धार्मिक र ज्योतिषीय गणनाअनुसार यस वर्ष फागुको मुख्य दिनअर्थात् पूर्णिमा फागुन १८ गते सोमबार परेको छ । सोही दिन पहाडी जिल्लाहरूमा रङ खेलेर हर्षाेल्लासका साथ फागु मनाइनेछ । तराईका जिल्लाहरूमा भने त्यसको भोलिपल्टअर्थात् फागुन १९ गते मङ्गलबार यो पर्व मनाइने तयारी छ ।
समितिले दिएको साइतअनुसार फागुन १८ गते सोमबार साँझ ५ बजेर ३१ बजे मिनेटको साइतमा चीर ढालेपछि पर्व समापन हुनेछ । ढालिएको चीर घिसार्दै टुँडिखेल पुर्याइनेछ । त्यही साँझ ५ बजेर ५१ मिनेटमा चीर दाह (जलाउने) गरिनेछ । चीर जलेसँगै यस वर्षको फागु पवको औपचारिक रूपमा समापन हुनेछ।





