Khabar Out
पाठेघरको निःशुल्क शल्यक्रिया अब जिल्ला अस्पतालमै

खोटाङ । खोटाङको जिल्ला अस्पतालमा पहिलोपटक पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ । यो सेवा सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि पनि ठुलो खर्च गरेर काठमाडौँ वा विराटनगर धाउनुपर्ने जिल्लावासीको बाध्यता हटेको छ।

अस्पतालमा सेवा सुरु भएलगत्तै दुईजना महिलाको सफल शल्यक्रिया समेत गरिसकिएको छ। अस्पताल प्रमुख डा. अमिताब ठाकुरले जिल्लामै उपलब्ध विशेषज्ञताको प्रयोग गरी विपन्न र पहुँचविहीन महिलालाई लक्षित गरेर यो सेवा थालिएको जानकारी दिए। अस्पतालले पाठेघरको शल्यक्रिया मात्र नभई पाठेघरको मुखको क्यान्सर परीक्षण, बाँझोपनको उपचार र जटिल प्रसूति सेवा (दोस्रो पटकको शल्यक्रिया) समेत उपलब्ध गराउन थालेको छ।

आफ्नै जिल्लामा विशेषज्ञ डाक्टर र निःशुल्क उपचार पाइने भएपछि लामो समयदेखि रोग लुकाएर बसेका महिलाहरू अहिले अस्पताल आउन थालेका छन्। जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं समन्वय समिति प्रमुख सनबहादुर राईका अनुसार मन्त्रालयबाट विशेषज्ञ चिकित्सक झिकाएर यो सेवालाई दीर्घकालीन बनाउने प्रयास गरिएको हो।

यसअघि खोटाङका १० वटा स्थानीय तहमा पाठेघरको शल्यक्रिया गर्ने सुविधा नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने अवस्था थियो। केही समयअघि मात्रै दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाले दर्जनौँ महिलालाई गाडी रिजर्भ गरेर बनेपासम्म लगेर उपचार गराएका थिए।

अब भने नगरपालिकाले लाखौँ खर्च गरेर बिरामी बाहिर लैजानु पर्दैन। जिल्लामै गुणस्तरीय सेवा सुरु भएपछि उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने जोखिम टरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्। रासस

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update