काठमाडौँ । जाडो मौसममा ज्येष्ठ नागरिकको स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने भएकाले विशेष हेरचाह र सुरक्षामा ध्यान दिन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वस्थ बुढ्यौलीका लागि ज्येष्ठ नागरिकको शारीरिक स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य तथा सुरक्षित वातावरणलाई प्राथमिकता दिएको छ ।
ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. उमेश बोगटीका अनुसार उमेर बढ्दै जाँदा शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमता र रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुने भएकाले चिसो मौसममा सङ्क्रमण तथा अन्य स्वास्थ्य समस्या देखिने जोखिम बढी हुन्छ ।
उनका अनुसार ज्येष्ठ नागरिकलाई न्यानो कपडा लगाउने, सुत्ने कोठा न्यानो राख्ने तथा हिटर प्रयोग गर्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउनुपर्छ । साथै पोषणयुक्त तथा प्रोटिनयुक्त खाना, मौसमी फलफूल, सागसब्जी र पर्याप्त झोलिलो पदार्थ सेवनमा ध्यान दिनुपर्छ ।
“जाडोमा छातीको सङ्क्रमण तथा निमोनियाको जोखिम बढ्ने भएकाले भिडभाड, धुवाँधुलोबाट टाढा रहने, नियमित हात धुने तथा चिकित्सकको सल्लाहअनुसार फ्लू र निमोनियाविरुद्धको खोप लगाउनुपर्छ,” डा. बोगटीले भने ।
त्यस्तै, नियमित हिँडडुल तथा हल्का व्यायाम गर्नुपर्छ । अत्यधिक चिसो र शीतलहर चलेका बेला बिहान बाहिर निस्कनबाट जोगिनुका साथै सुरक्षित स्थानमा बसेर घाम ताप्न सकिन्छ । लड्ने जोखिम कम गर्न नचिप्लिने जुत्ता प्रयोग गर्ने र आवश्यकताअनुसार लौरोको सहारा लिनुपर्छ ।
डा. बोगटीले भने, “उच्च रक्तचाप, मधुमेह, दम तथा जोर्नीसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकले नियमित औषधि सेवन र स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्छ । चिसोका कारण छाला सुक्खा हुने तथा चिलाउने समस्या देखिन सक्ने भएकाले मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।”
जाडोमा शरीरको तापक्रम अत्यधिक घट्दा हाइपोथर्मिया हुन सक्छ । शरीर काँप्ने, अत्यधिक थकान हुने, अलमलिने, बोली अस्पष्ट हुने तथा असामान्य निद्रा लाग्ने यसका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तत्काल न्यानो स्थानमा लैजानुका साथै आपत्कालीन स्वास्थ्य सेवा लिनुपर्छ । छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा होसमा परिवर्तन आउने अवस्था देखिएमा पनि तुरुन्त अस्पताल लैजानुपर्छ ।
डा. बोगटीका अनुसार ज्येष्ठ नागरिकलाई चिसोबाट सुरक्षित राख्न न्यानो वातावरण, पोषणयुक्त खानपान, आवश्यक खोप, नियमित शारीरिक गतिविधि र पारिवारिक सहयोग महत्त्वपूर्ण हुन्छ । रासस







