काठमाडौं । २०औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आउँदो फागुन २ गते शनिबार हुने भएको छ । हरेक वर्ष फागुनको पहिलो शनिबार हुने पोखरा म्याराथन प्रतियोगिताअन्र्तगत १४ मध्ये सातवटा विधा थप गरी यसवर्ष २१ विद्यामा प्रतिस्पर्धा हुने भएको छ ।
जसअन्तर्गत खुला ४२.१९५ किमी म्याराथन, नेपाल राष्ट्रस्तरीय खुल्ला म्याराथन ४२.१९५ किमि., गण्डकी प्रदेश स्तरीय ४२.१९५ किमिसहित विभिन्न उमेर समूहमा प्रतियोगिता हुने आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पत्रकार सम्मेलनमा जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले चार लाख रुपैयाँ, दोस्रो हुनेले दुई लाख रुपैयाँ र तृतीय हुनेले एक लाख रुपैयाँ प्राप्त गर्ने छन् । २०औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा पुरुषतर्फ २१ विदेशीसहित १५१ जना र उमेर समूह ४५ वर्षमाथि २८ जनाको सहभागिता रहने छ ।
त्यसैगरी हाफम्याराथनमा महिला आठ विदेशीसहित १९० जना, पुरुषतर्फ आठ विदेशीसहित १८८ जना सहभागी हुने छन् ।
प्रतियोगीतामा महिला र पुरुषतर्फ गरी विभिन्न विधामा गरी १० हजार बढी धावकले सहभागिता जनाउने भएका छन् । म्याराथन पोखरा रंगशालाबाट सुरु भई फेवाताल किनारमा सम्पन्न हुने बताइएको छ ।





