कास्की । पोखरा रंगशालामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज (माघ १९) लिग चरणका दुई खेल हुँदै छन् । पहिलो खेल बंगलादेश र भारतबीच मध्याह्न १२ बजे सुरु हुनेछ ।
यस्तै, घरेलु टोली नेपालले दिउँसो ३ बजे भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भुटान दुवै यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई भारतले १–० गोलले निराश बनाएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशसँग भुटान १२–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा हुनेछन् । फाइनल सम्भावना जीवित राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ । बंगलादेश र भारतले भने एक/एक खेल जितेर समान तीन अंक जोडेका छन् ।
प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ ।
प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका निम्ति प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए । रासस



