काठमाडाैँ। युरोपेली युनियन (ईयू) ले नोभेम्बर १ देखि सङ्घबाहिरबाट आउने पार्सलमा दुई युरो ह्यान्डलिङ शुल्क लगाउने भएको छ। यो शुल्क यसअघि १५० युरोभन्दा कम मूल्यका साना पार्सलमा लागू गरिएको तीन युरो शुल्कभन्दा अतिरिक्त हुनेछ।
नयाँ व्यवस्थाअनुसार पार्सलमा रहेका सामानको प्रकारका आधारमा शुल्क लाग्नेछ। एउटै प्रकारका सामान भए दुई युरो र दुई प्रकारका सामान भए चार युरो शुल्क लाग्नेछ। शुल्क अनलाइन विक्रेता तथा मध्यस्थहरूले तिर्नुपर्ने भए पनि उनीहरूले मूल्य बढाएर उपभोक्तामाथि भार सार्न सक्नेछन्।
इयुका अनुसार गत वर्ष सङ्घमा करिब छ अर्ब साना पार्सल भित्रिएका थिए। तीमध्ये करिब ९३ प्रतिशत चीनबाट आएका थिए। बढ्दो आयातले भन्सार अधिकारीहरूको काम र खर्च बढाएकाले नयाँ शुल्क लगाउनुपरेको ईयूको भनाइ छ। जुलाईमा तीन युरो शुल्क लागू भएपछि आयात करिब ६४ प्रतिशत घटेको भए पनि त्यसको प्रभावबारे निष्कर्ष निकाल्न हतार हुने अधिकारीहरूले बताएका छन्।
दुई युरो शुल्क स्थायी हुनेछ भने तीन युरो शुल्क सन् २०२८ जुलाई १ सम्म अस्थायी रूपमा कायम रहनेछ । त्यसपछि सामानको प्रकारअनुसार सामान्य भन्सार शुल्क लागू हुनेछ। ईयूले ह्यान्डलिङ शुल्कको रकम प्रत्येक दुई वर्षमा पुनरवलोकन गर्नेछ । रासस







