काठमाडौं । भावातीत ध्यान (Transcendental Meditation) का प्रवर्तक तथा बीसौँ शताब्दीका महान् आध्यात्मिक गुरु महर्षि महेश योगीको १०९ औँ जन्मजयन्तीको अवसरमा २०२६ जनवरी १२ तदनुसार २०८२ पौष २८ मा दक्षिणकाली नगरपालिका–१, बोसनस्थित महर्षि वैदिक इन्स्टिच्युट, ब्रह्मानन्द सरस्वती नगरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले दुई विशेष सङ्कल्प सार्वजनिक भएको थियो । आगामी पाँच वर्षमा विश्वशान्तिका लागि १० हजार वैदिक पण्डित तयार गर्ने र सन् २०३० नोभेम्बरमा विश्वव्यापी सामूहिक भावातीत ध्यान कार्यक्रम आयोजना गर्ने कार्यक्रममा महर्षि अभियानका प्रमुख महाराजा अधिराज राजा रामले नेपाली गुरुकुलहरूका वटुक, वैदिक पण्डित र भारतमा रहेका गुरुकुललाई सम्वोधन गर्नु भएको कार्यक्रममा अनलाइनबाट जोडिएको थियो । सो कार्यक्रममा महाराजा अधिराज राजा रामले वैदिक पण्डितहरूको शुद्ध परम्परा र यस परम्पराको ज्ञानको समसामयीक महत्त्वका बारेमा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो।
महर्षि महेश योगीज्यूले यो परम्पराको पूर्ण मुल्यलाई उजागर गर्दै स्थापित गर्नका लागि सरल चेतनाको प्रविधिलाई हामीमाझ ल्याइदिनु भएको विषयलाई स्मरण गर्दै सबै वैदिक वटुक तथा पण्डितहरूलाई महर्षिज्यूले देखाउनु भएको बाटोबाट विश्व शान्ति हिँड्नका लागि उत्साह प्रदान गर्नुभयो साथै महर्षि वैदिक पण्डितहरूले पुर्याटउनु भएको योगदान प्रति आफू आभारी हरेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।
राजा कनहाउसले नेपालका वैदिक पण्डितहरूको मन्त्रोच्चारण परम्पराको प्रशंसा गर्दै चेतनाको गहिराइबाट गरिएको जपले विश्वब्रह्माण्डमै प्रभाव पार्ने बताए । “सही मन्त्रोच्चारणको दक्षिणा भनेको विश्वशान्ति हो,” उनले भने । साराकनहाउसले पनि संसारका सबै समस्याहरूलाई समाधान गर्न सक्ने वैदिक मन्त्रहरू रहेकोविश्वास व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै राजा रिचर्डसले ब्रह्मानन्द सरस्वती नगरको निर्माणमा सहयोग गर्न आएको र अहिले यहीँ बस्न थालेको अनुभव सुनाए । उनले यो भूमि ‘वेदभूमि’ भएको उल्लेख गर्दै यहाँ अन्तर्मनको यात्राका लागि संसारकै उपयुक्त स्थान भएको बताए ।
कार्यक्रममा भावातीत ध्यान तथा सिद्धि प्रशिक्षक मीनराज अधिकारीले महर्षि महेश योगीको जीवन, दर्शन र योगदानबारे तयार पारिएको प्रस्तुति ९पावरप्वाइन्ट० मार्फत विस्तृत रूपमा प्रकाश पारे । उनले वैदिक ज्ञानलाई आधुनिक र वैज्ञानिक ढंगले विश्वभर फैलाउन महर्षि महेश योगीले खेलेको भूमिकालाई ऐतिहासिक उपलब्धि भएको बताए ।
उनका अनुसार सन् १९१७ मा भारतको जबलपुरमा जन्मिएका महर्षि महेश योगीको जन्मनाम महेश प्रसाद वर्मा थियो । इलाहाबाद विश्वविद्यालयबाट भौतिकशास्त्र अध्ययन गरेका उनी प्रारम्भदेखि नै विज्ञान र अध्यात्मको समन्वयमा रुचि राख्थे । यही खोजकै क्रममा उनी अद्वैत वेदान्तका महान् आचार्य तथा ज्योतिर्मठ बदरिकाश्रमका शंकराचार्य गुरुदेव स्वामी ब्रह्मानन्द सरस्वतीको शरणमा पुगेका थिए ।
प्रस्तुतिमा अधिकारीले गुरुदेव स्वामी ब्रह्मानन्द सरस्वतीसँगको महर्षि महेश योगीको सम्बन्ध, भावातीत ध्यानको विकास र यसको विश्वव्यापी विस्तारबारे चर्चा गरे । भावातीत ध्यानले मानिसको मानसिक स्वास्थ्य, आन्तरिक शान्ति र चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले यस विधि अहिले विश्वका धेरै मुलुकमा अभ्यास भइरहेको जानकारी दिए ।
कार्यक्रमको सुरुवात गुरुदेवको मन्दिरमा गुरुपूजन, स्वस्तिवाचन र महर्षिको तस्बिरमा माल्यार्पणसँगै गरिएको थियो । कार्यक्रम माधवप्रसाद अर्यालले सञ्चालन गरेका थिए । गुरुदेव मन्दिर परिसरमा मारियो ओर्साती र जोन कनहाउसलाई उनीहरूको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरिएको थियो । त्यसपछि सहभागीहरूले सामूहिक रूपमा भावातीत ध्यानको अभ्यास गरेका थिए ।
कार्यक्रममा मारियो ओर्सातीले महर्षिसँगको आफ्नो पहिलो भेट र जीवनमा परेको प्रभाव स्मरण गर्दै महर्षि केवल ज्ञानका गुरु मात्र नभई ब्राह्मी चेतनाको प्रतिमूर्ति भएको बताए ।
कार्यक्रमको क्रममा जोन कनहाउसले ब्रह्मानन्द सरस्वती नगरका लागि श्रीयन्त्र हस्तान्तरण गरे । साथै रमेश पोखरेल, प्रेगीत सापकोटा, सागर उपाध्याय, पवन दाहाल, महेश दाहाल, शिवहरि सिग्देल, देवीप्रसाद मिश्र, ऋषिराम अधिकारी, यमनाथ बराल, उदय न्यौपाने र कुशल सापकोटालगायतले कविता वाचन गरेका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले महर्षि महेश योगीले भावातीत ध्यानलाई केवल व्यक्तिगत साधनामा सीमित नराखी विश्वशान्ति अभियानको रूपमा अघि बढाएको उल्लेख गरे । उनका पहलमा स्थापित विभिन्न संस्थामार्फत ध्यानसम्बन्धी अनुसन्धान र प्रशिक्षणले अन्तर्राष्ट्रिय मान्यता पाएको उनीहरूको भनाइ थियो ।
सन् २००८ मा महासमाधि लिएका महर्षि महेश योगीका विचार र शिक्षाहरू आज पनि विश्वभर फैलिरहेको सन्दर्भमा वक्ताहरूले नेपालमा पनि वैदिक चेतना र भावातीत ध्यानको विस्तार आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा साधक, प्रशिक्षक तथा स्थानीय सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्षको समापन मन्तव्य भजनसहित सम्पन्न गर्नुभएको थियो ।



