Khabar Out
लुटपाटमा संलग्नहरुको नाम र ठेगाना उपलब्ध गराउन कास्की प्रहरीको आग्रह

पोखरा । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ ।

प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको छ । 

आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनीयता कायम राखिने कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।  आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सघाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ । 

जेनजी प्रदर्शनका क्रममा भएका आपराधिक घटनामा संलग्न केही व्यक्ति पक्राउसमेत परिसकेको र उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी बस्नेतले बताए । 

‘आन्दोलनमा भएका लुटपाट, तोडफोड, आगजनीजस्ता घटनामा संलग्न व्यक्तिलाई खोजी गरी नियन्त्रणमा लिइरहेका छौँ’, उनले भने, ‘किटानी जाहेरी र उजुरीका आधारमा अहिलेसम्म ३८ जना पक्राउ परिसकेका छन्, उनीहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको छ ।’  

प्रदर्शनकारीले लुटेका केही हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । 

आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झन्डै रु पाँच अर्ब बराबरको क्षति पुगेको जनाइएको छ । कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका एक सय ३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको जनाइएको छ ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशभित्र तीन सय ६१ वटा दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सात वटा तोडफोड गरिएको र तीन वटा हराएका छन् । 

एक सय ६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएका छन् । प्रदर्शनका क्रममा प्रदेशभित्र तीन जनाले ज्यान गुमाएका थिए भने सुरक्षाकर्मी र आन्दोलनरत पक्षतर्फ गरी ७० जनाभन्दा बढी घाइते भएका थिए । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update